काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आज ल्याएको राष्ट्रिय प्रतिवद्धतापत्रमा पूर्वाधार विकासका केही प्रस्तावहरु अघि सारिएको छ । त्यसभित्र अर्थपूर्ण रुपमा एउटा शब्द परेको छ– महेन्द्र राजमार्ग ।
राजा महेन्द्रले निर्माण गरेको महेन्द्र राजमार्गलाई प्रजातन्त्र आएपश्चात ‘पूर्वपश्चिम राजमार्ग’ भन्ने गरिएको थियो । नयाँ नामाकरणबारे कुनै पनि सरकारले औपचारिक निर्णय गरेको भने पाईंदैन । सरकारी दस्तावेजहरुमा ‘पूर्वपश्चिम राजमार्ग’ लेख्ने गरिए पनि जनस्तरमा भने महेन्द्र राजमार्ग नाम नै लोकप्रिय छ । वर्तमान सरकारले पनि राजा महेन्द्रलाई यथोचित श्रेय दिँदै पुरानो ‘महेन्द्र राजमार्ग’ नाम स्वीकारेको हो ।



प्रतिवद्धतापत्रमा महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय हाइवेको मापदण्डमा स्तरोन्नति गर्ने उल्लेख छ । यस्तै, सिद्धार्थ राजमार्ग, अन्नपूर्ण राजमार्ग र सिद्धार्थ राजमार्गको पूर्व–पश्चिम राजमार्गलाई ‘पूर्व–पश्चिम राजमार्गको रुपमा स्तरोन्नति गर्ने भनिएको छ ।
अहिले ‘पूर्वपश्चिम राजमार्ग’ भनेर महेन्द्र राजमार्गलाई चिनिन्छ । यो नेपालको सबैभन्दा लामो राष्ट्रिय राजमार्ग हो, जसको लम्बाइ हाल १,०२७।६७ किलोमिटर छ । यो राजमार्ग तराई क्षेत्र हुँदै पूर्वमा झापाको काँकडभिट्टा (मेचीनगर) देखि पश्चिममा कञ्चनपुरको भीमदत्त नगर (महेन्द्रनगर/गड्डाचौकी) सम्म फैलिएको छ ।
यसले नेपालका २० भन्दा बढी जिल्लालाई छुन्छ । पर्साबाहेक तराईका सबै जिल्ला महेन्द्र राजमार्गमा जोडिएका छन् । राजा महेन्द्र विरविक्रम शाहको शासनकालमा यो परियोजना सुरु भएको हो ।
२०१९ बैशाख १ गते राजा महेन्द्रले नवलपरासीको गैडाकोटमा यस राजमार्गको शिलान्यास गरेका थिए । भारतले सहयोग नगरेपछि सोभियत संघलगायत अन्य देशबाट सहायता लिएर उनले राजमार्ग निर्माण अघि बढाए । विभिन्न चरणमा यो राजमार्गको निर्माण सम्पन्न भयो ।
यो राजमार्ग आजका दिनसम्म पनि देशको आवागमन र आर्थिक विकासको लाइफलाइनका रुपमा रहेको छ ।




