महोत्तरी – समुदायमा असामान्य स्वास्थ्य समस्या वा रोग देखिएमा तत्कालै नजिकको स्वास्थ्य संस्था तथा हेल्लो स्वास्थ्यमा सम्पर्क गर्न स्वास्थ्यकर्मीहरुले समुदायका अगुवाहरुलाई आग्रह गरेका छन् ।
जलेश्वर नगरपालिकाको आयोजना तथा युनिसेफको सहयोगमा संस्थागत क्लिनिकमा आयोजना गरिएको समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्नुहुदै स्वास्थ्यकर्मी कला चौधरीले समुदायमा देखिएका नौलो रोग तथा अन्य रोगहरुबारे जानकारी पाएमा स्वास्थ्यकर्मीहरुलाई खबर गर्न आग्रह गर्नुभयो ।




उहाँले कारण नखुलेको शंकास्पद सरुवा रोग, असामान्य रुपमा कुखुरा, हाँस, कुकुर, सुँगुर लगायतका जनावरहरु विरामी पर्नु र मर्नु, एउटै भोज भतेरमा सहभागीहरु एउटै समयमा विरामी पर्नु, धेरै जनामा एकै किसिमको रोग तथा लक्षण देखिए लगायतकाहरु अनपेक्षित जनस्वास्थ्यसँग सम्बन्धित घटना तथा रोगहरु रहेको चर्चा गर्नुहुदै यस्तो समस्या देखिएको हेल्लो स्वास्थ्य तथा स्वास्थ्यकर्मीहरुलाई खबर गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा युनिसेफको स्थानीय सहयोगी पिएफआडीका प्रोगाम कोर्डिनेटर तथा स्वास्थ्यकर्मी लेखनाथ यादवले शरिरको कुनै पनि भागमा बिमिराहरु सहितको ज्वरो आएको, उच्च ज्वरोसहित कम्पन, अर्धचेत वा अचेत भएका, ज्वरोसहित शरिरका विभिन्न अंगहरुबाट रगत बग्ने समस्या देखिएमा, १५ वर्ष भन्दा मुनिका बालबालिकामा शरिरको कुनै पनि भागमा एक्कासी कमजोरी वा लुलोपना भएको एउटा पनि विरामी फेला परेमा सम्पर्क गर्नुपर्नेमा जोड दिनुहुदै यसले समयमै उपचार गराउन तथा समुदायमा फैलिन नदिन सहयोग पुग्ने बताउनुभयो ।
समयमै रोगको पहिचान र उपचार गरि संक्रामक रोग अन्य व्यक्तिमा सर्न नदिन, महामारी हुन नदिन र नियन्त्रण गर्न तथा तत्काल मृत्यु र दीर्घकालमा हुन सक्ने अपाङ्गता रोक्न तपाईहरुको सानो कामले धेरैको ज्यान वचाउन सकिने भएकोले जानकारी प्राप्त हुनासाथ सम्पर्क गर्न आग्रह गर्नुभयो ।

जलेश्वर नगरपालिका वडानं. २ का वडाध्यक्ष बरुण दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जलेश्वरको विभिन्न सामुदायिक तथा सरकारी विद्यालयका शिक्षक,शिक्षिकाहरु,स्वास्थ्यकर्मीहरु, प्रादेशिक अस्पताल जलेश्वरका कर्मचारीहरु, सुरक्षा निकायका कर्मचारीहरु, स्वंयसेविका, आमासमुहका पदाधिकारीहरुको सो कार्यक्रममा उपस्थिती रहेको थियो ।

स्वास्थ्यकर्मीहरुले गर्नुभएको आग्रह वमोजिम कार्यक्रममा नै धेरैजनाले हेल्लो स्वास्थ्यको नम्बर १११५ मा पटक पटक फोन गर्दा पनि त्यसमा फोन नउठ्दा सहभागीहरु त्यसमा प्रश्नसमेत उठाएका थिए । आयोजकले समेत सो नम्बरमा पटक पटक सम्पर्क गरेको थियो तर फोन नउठ्दा उहाँहरु त्यसबारे बुझने भनेर विषयवस्तु अगाडी बढाएका थिए ।
कार्यक्रममा सहभागी पत्रकार विष्णु गुप्ताले सरकारले सार्वजनिक गरेको नम्बरमा नै फोन नउठाउनु गलत रहेको प्रतिकृया दिनुभयो ।






