धनुषा – राष्ट्रिय दलित नेटवर्क, नेपालको आयोजना तथा सहिदनगर नगरपालिकासँगको समन्वयमा हरवाचरवा समुदायका १५ जना अभियन्ताका लागि सञ्चालन गरिएको दुई दिने पैरालिगल तालिम सम्पन्न भएको छ।
वैशाख १६ र १७ गते सहिदनगर नगरपालिका–३ यदुकाहा बजारमा सम्पन्न तालिमको उद्घाटन नगरपालिकाकी उपप्रमुख सुनीता सिंहले गर्नुभएको थियो। तालिममा सहभागीलाई संविधान, मानव अधिकार, श्रम कानुन, नागरिकता तथा भूमि अधिकार, लैङ्गिक हिंसा र विभेदविरुद्धका कानुनी प्रावधानसम्बन्धी जानकारी दिइनुका साथै मुद्दा दस्तावेजीकरण, कानुनी परामर्श, मेलमिलाप र सन्दर्भ सेवासम्बन्धी व्यवहारिक सीप विकासमा केन्द्रित गरिएको थियो।




तालिम समापनसँगै सहभागीहरूले “सहिदनगर घोषणा–पत्र” जारी गर्दै हरवाचरवा समुदायको अधिकार सुनिश्चितता र न्यायमा पहुँच विस्तारका लागि १० बुँदे प्रतिबद्धता तथा पाँच बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्।
त्यसैगरी, मञ्जु महराको अध्यक्षतामा १३ सदस्यीय ‘हरवाचरवा पैरालिगल मञ्च’ गठन गरिएको छ। मञ्चको उपाध्यक्षमा रविन कुमार सदा, सचिवमा रमेश चमार र कोषाध्यक्षमा सरिता कुमारी पासवान चयन हुनुभएको छ। सदस्यहरूमा बुधन महरा, ललित माँझी, श्याम सदा, सन्तोषी सदा, बर्मिला देवी पासवान, गुलीदेवी महरा, बनारशी महरा, पविता देवी सदा र सुनीता कुमारी पासवान रहनुभएको छ।
मञ्चले समुदायस्तरमा कानुनी सहायता, परामर्श, उजुरी व्यवस्थापन तथा सरोकारवालासँग समन्वय गर्दै सक्रिय भूमिका निर्वाह गर्ने जनाइएको छ।
घोषणा–पत्रमा नागरिकता तथा जन्मदर्ताजस्ता आधारभूत सेवामा पहुँच, भूमि अधिकार सुनिश्चितता, सुरक्षित आवास, गुणस्तरीय शिक्षा, समान ज्याला, जातीय विभेद अन्त्य, लैङ्गिक हिंसा न्यूनीकरण, बालविवाह रोकथाम, रोजगारी प्रवर्द्धन तथा दाइजो प्रथा र लागुऔषध दुव्र्यसन नियन्त्रणलाई प्राथमिकतामा राखिएको उल्लेख छ।

मञ्चले सात बुँदे आचारसंहिता अवलम्बन गर्दै पारदर्शिता, जवाफदेहिता, गोपनीयता र नैतिक आचरणलाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।
तालिममा कानुनी विज्ञ सञ्जु पाण्डे, राष्ट्रिय दलित नेटवर्क, नेपालका कार्यकारी निर्देशक हुकुमबहादुर सार्की तथा सामाजिक परिचालक रामदयाल माँझीले सहजीकरण गर्नुभएको थियो।

आयोजकका अनुसार यस पहलले हरवाचरवा समुदायको न्यायमा पहुँच सुदृढ गर्न र स्थानीय तहमा दिगो परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।





