महोत्तरी – नयाँ शैक्षिक सत्र प्रारम्भ भएसँगै महोत्तरी जिल्लामा विद्यार्थी भर्ना अभियानलाई तीव्रता दिइएको छ । जिल्लाका १५ वटै स्थानीय तहअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूले भर्ना अभियानलाई सक्रिय रूपमा अघि बढाएका छन् । यसैक्रममा औरही नगरपालिकाभित्रका विद्यालयहरूमा पनि भर्नासँगै पाठ्यपुस्तक वितरण कार्य सुरु गरिएको छ ।

नगरपालिकाभित्र १६ वटा सामुदायिक विद्यालय रहेका छन्, जसमध्ये ४ वटा माध्यमिक र १२ वटा आधारभूत विद्यालय सञ्चालनमा रहेका छन् । ती विद्यालयहरूले विद्यार्थी भर्ना भएकै दिन पाठ्यपुस्तक हस्तान्तरण गर्ने व्यवस्था मिलाएका छन् । विगतका वर्षहरूमा वैशाख २ गतेदेखि सुरु हुने भर्ना अभियान यस वर्ष भने सरकारी निर्णयअनुसार वैशाख १५ गतेदेखि सञ्चालन गरिएको हो ।




श्री जनता आधारभूत विद्यालय, औरहीका प्राध्यापक पच्चु महराका अनुसार भर्नासँगै विद्यार्थीले हातहातमै पाठ्यपुस्तक प्राप्त गर्दा उनीहरूको सिकाइ क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ । समयमै पाठ्यपुस्तक उपलब्ध हुँदा शैक्षिक गुणस्तरमा सकारात्मक सुधार आउने उहाँले बताउनुभयो ।

कक्षा ६ मा अध्ययनरत विद्यार्थी पूजा कुमारी साहले भर्नासँगै पाठ्यपुस्तक प्राप्त हुँदा अध्ययनमा सहजता भएको अनुभव सुनाउँदै विगतमा समयमै पुस्तक नपाउँदा अध्ययनमा कठिनाइ हुने गरेको स्मरण गरिन् । त्यस्तै, विद्यार्थी अंश कुमार मण्डलले समयमै पाठ्यपुस्तक उपलब्ध हुँदा अध्ययनप्रति आकर्षण बढ्ने र सिकाइलाई निरन्तरता दिन सहज हुने बताए ।

यसैबीच, औरही नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार खड्काले नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै भर्ना अभियानलाई सफल बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ । उहाँका अनुसार नगरभित्रका सामुदायिक विद्यालयहरूमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था मिलाइएकोले विद्यार्थीको सिकाइ प्रक्रिया सहज हुनुका साथै शैक्षिक गुणस्तरमा सुधार आउने विश्वास गरिएको छ ।

साथै, भर्ना दर वृद्धि गर्न घरदैलो अभियान, अभिभावकसँगको समन्वय तथा विद्यालयस्तरीय प्रचार–प्रसारलाई थप प्रभावकारी बनाइने र नगरपालिकाले शैक्षिक सुधारका लागि निरन्तर अनुगमन तथा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
महोत्तरीका ग्रामीण भेगमा विद्यालयहरूले घरदैलो अभियान, अभिभावकसँग अन्तरक्रिया तथा प्रचार–प्रसारमार्फत विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाइरहेका छन् ।










