धनुषा । रसुवाको भोटेकोशी क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत धनुषाका अजय प्रसाद सिंह सम्पर्कविहीन हुनुभएको छ। बाढी आएयता उहाँसँग कुनै सम्पर्क हुन नसकेको परिवारले जनाएको छ।
धनुषाको कमला नगरपालिका–६, सखुवा मडान निवासी सिंह Doosan Hydropower अन्तर्गत निर्माणाधीन अपर त्रिशूली–१ आयोजनामा कार्यरत हुनुहुन्थ्यो। उहाँकी श्रीमती पूजा साहका अनुसार बाढी आएपछि बुधबार बिहानदेखि सिंहसँग फोन तथा अन्य माध्यमबाट सम्पर्क हुन सकेको छैन।



“बाढी आएपछि उहाँसँग अहिलेसम्म सम्पर्क हुन सकेको छैन। उहाँको अवस्था थाहा नहुँदा हामी सबै परिवारजन चिन्तित छौँ,” श्रीमती साहले बताउनुभयो।
उहाँका अनुसार सिंहसँगै आयोजनामा कार्यरत केही अन्य कर्मचारी र साथीहरूसँग पनि सम्पर्क हुन सकेको छैन। साथीहरूबाट प्राप्त जानकारीअनुसार उनीहरू सवारीसाधन लिएर जाने क्रममा बाढी तथा पहिरोका कारण बाटोमै रोकिएको वा कतै फसेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, सिंहको अवस्थाबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन।
बाढीका कारण आयोजनास्थल आसपासका सडक, पुल तथा सञ्चार संरचनामा क्षति पुगेकाले त्यहाँ रहेका कर्मचारीसँग सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको परिवारले जनाएको छ। सिंहसहित अन्य सम्पर्कविहीन कर्मचारीको अवस्थाबारे जानकारी लिन परिवारले सम्बन्धित आयोजना, स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरिरहेको छ।
भोटेकोशी क्षेत्रमा आएको आकस्मिक बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। जलविद्युत् आयोजना, सडक, पुल तथा अन्य संरचनामा क्षति पुगेको छ भने ठूलो सङ्ख्यामा नागरिक, कर्मचारी तथा सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।
सिंहको खोजी तथा उद्धारका लागि परिवारले सम्बन्धित निकायसँग आग्रह गरेको छ। “उहाँको अवस्थाबारे कसैलाई कुनै जानकारी भएमा कृपया हामीलाई खबर गरिदिनुहोस्,” श्रीमती साहले आग्रह गर्नुभयो।
अजय प्रसाद सिंहका सम्बन्धमा कुनै जानकारी प्राप्त भएमा ९८०३६४७२३० नम्बरमा सम्पर्क गरी परिवारलाई जानकारी गराउन अनुरोध गरिएको छ। परिवारजन उहाँ सुरक्षित र सकुशल रहेको खबरको प्रतीक्षामा रहेका छन्।




