जनकपुरधाम – नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मधेश प्रदेशमा संगठन सुदृढीकरण गर्ने उद्देश्यसहित जनकपुरधामका विद्यार्थी नेता मनिष कुमार यादवलाई प्रदेश अध्यक्षमा मनोनित गरेको छ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित पत्रमार्फत यादवलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो। संगठनको विधान २०२७ (सातौँ संशोधन २०७५) बमोजिम प्रदेश समितिको संरचना अनुसार उनलाई अध्यक्ष पदमा मनोनयन गरिएको जनाइएको छ।केन्द्रीय कार्यालय काठमाडौँबाट जारी गरिएको पत्रमा संगठनको विधि, विधान र मर्यादाभित्र रही मधेश प्रदेशमा नेविसंघलाई गतिशील, सशक्त र प्रभावकारी बनाउन सक्ने विश्वास व्यक्त गरिएको छ।



यादव यसअघि जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसका निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति रहिसकेका छन्। उनले क्याम्पस तहमा विद्यार्थी हकहित, शैक्षिक सुधार, शुल्क नियन्त्रण, पुस्तकालय व्यवस्थापन तथा परीक्षा प्रणालीमा पारदर्शिता कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।विद्यार्थी आन्दोलनबाट स्थापित यादव मधेशका युवामाझ सक्रिय र संघर्षशील नेताका रूपमा परिचित छन्। स्ववियु सभापतिका रूपमा उनले क्याम्पस प्रशासन र विद्यार्थीबीच समन्वय गर्दै शैक्षिक वातावरण सुधारका लागि पहल गरेका थिए।
उनको संगठनप्रतिको निष्ठा, सक्रियता र मधेश प्रदेशभर विद्यार्थीबीचको पहुँचका आधारमा केन्द्रीय समितिले प्रदेश नेतृत्वको जिम्मेवारी दिएको जनाइएको छ।
नवनियुक्त अध्यक्ष यादवले मधेश प्रदेशका आठवटै जिल्लामा संगठन विस्तार, निष्क्रिय इकाइ पुनर्जीवन तथा क्याम्पस केन्द्रित विद्यार्थी आन्दोलनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले बेरोजगारी, शिक्षा शुल्क वृद्धि, छात्रवृत्ति, महिला विद्यार्थी सुरक्षा र गुणस्तरीय शिक्षाको सवाललाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए।“यो जिम्मेवारी मेरा लागि सम्मान मात्र होइन, संघर्षको मूल्यांकन पनि हो,” उनले भने, “मधेशका हरेक क्याम्पसमा विद्यार्थीको हक, अधिकार र गुणस्तरीय शिक्षाका पक्षमा संगठनलाई अझ सशक्त बनाउने छु।”









