महोत्तरी- महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रमा पछिल्ला केही वर्षयता व्यावसायिक उन्नत जातका केरा खेतीतर्फ किसानहरूको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ। परम्परागत खेती प्रणालीबाट अपेक्षित आम्दानी हुन छाडेपछि कम क्षेत्रफलमा बढी उत्पादन र राम्रो बजार मूल्य दिने उन्नत जातका केरा खेतीतर्फ किसानहरू उन्मुख भएका हुन्।

गौशाला, भङ्गाहा नगरपालिका तथा सोनमा र सम्सी गाउँपालिकाका किसानहरूले अहिले परम्परागत मिर्चमान, झपरी, बत्तीसा र स्थानीय मालभोग जातका केराभन्दा रोवेष्ट्रा, इजी नाइन, विलियम हाइब्रिड तथा उन्नत मालभोग जातका केरालाई प्राथमिकता दिन थालेका छन्। सानो बोट, ठूलो घरी, बढी उत्पादन र स्वादिलो हुने भएकाले रोवेष्ट्रा र इजी नाइन जात किसानहरूको पहिलो रोजाइ बन्दै गएको छ। गौशाला नगरपालिका–११, भरतपुरका किसान रामएकवाल महतो विगत पाँच वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आउनुभएको छ।




उहाँले हाल पाँच बिघा क्षेत्रफलमा इजी नाइन, रोवेष्ट्रा र उन्नत मालभोग जातका केरा लगाउनुभएको छ। उहाँका अनुसार खर्च कटाएर वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी हुँदै आएको छ। “यो वर्षको उत्पादन पनि अग्रिम रूपमा बिक्री भइसकेको छ,” उहाँले भन्नुभयो, “प्रति कोसा साढे चार रुपैयाँका दरले कारोबार भइरहेको छ भने एक घरी केरा तीनदेखि चार सय रुपैयाँसम्ममा बिक्री हुन्छ।” त्यस्तै, सम्सी गाउँपालिका–५, गाढाभेटपुरका किसान रामध्यान मण्डल पनि व्यावसायिक केरा खेतीबाट उत्साहित हुनुहुन्छ। उहाँका अनुसार रोवेष्ट्रा र इजी नाइन जातका केरा सानो बोट हुने भएकाले हावाहुरीमा कम ढल्ने, स्वादिलो हुने तथा रोपेको करिब नौ महिनामै उत्पादन दिन सुरु गर्ने भएकाले किसानका लागि लाभदायक बनेको छ।

“एक कट्ठामा करिब ८० वटा बोट लगाउन सकिन्छ,” उहाँले भन्नुभयो, “उपभोक्ताको माग राम्रो भएकाले बिक्रीमा कुनै समस्या छैन।” कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार जिल्लामा पछिल्लो समय युवा किसानहरू व्यावसायिक केरा खेतीतर्फ बढी आकर्षित भएका छन्। कम मिहिनेत र सीमित लगानीमै राम्रो आम्दानी हुने भएकाले यो खेतीप्रति आकर्षण बढेको कार्यालयको भनाइ छ। कृषि ज्ञान केन्द्र महोत्तरीका निमित्त प्रमुख देवानन्द रायका अनुसार गौशाला, भङ्गाहा र सम्सीका विभिन्न क्षेत्रमा हाल एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा उन्नत जातका केरा खेती भइरहेको छ। जिल्लाभर केरा खेतीको कुल क्षेत्रफल करिब तीन हजार हेक्टर रहेको उहाँले जानकारी दिनुभयो। “एक पटक लगाइएको केराले उचित काँटछाँट र रोग व्यवस्थापन भएमा पाँच वर्षसम्म उत्पादन दिन सक्छ,” उहाँले भन्नुभयो।

बागवानी विकास अधिकृत अबिरल कुमार महतो कुशवाहाका अनुसार तरकारीका रूपमा प्रयोग हुने केराका लागि बत्तीसा र झपरी जात उपयुक्त मानिन्छ भने फलका रूपमा स्थानीय मालभोग अझै लोकप्रिय छ। तर उन्नत जातमध्ये रोवेष्ट्रा र इजी नाइन महोत्तरीको हावापानीमा राम्रोसँग फस्टाएको र बजार माग पनि बलियो रहेको उहाँको भनाइ छ। यद्यपि, किसानहरूले कृषि प्राविधिक सहयोग पर्याप्त रूपमा नपाएको गुनासो गरेका छन्। कृषि ज्ञान केन्द्र र स्थानीय तहका कृषि शाखा भए पनि नियमित अनुगमन, रोग व्यवस्थापन र प्राविधिक परामर्शमा कमजोरी रहेको उनीहरूको भनाइ छ।

किसानहरूले उन्नत र प्रमाणित बिरुवा उपलब्ध गराउने, आधुनिक खेती प्रविधि सिकाउने, उत्पादन भण्डारण तथा बजार व्यवस्थापनमा सहयोग गर्ने कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न माग गरेका छन्। कृषि ज्ञान केन्द्रले भने किसानलाई आवश्यक सबै प्राविधिक सहयोग उपलब्ध गराउन कार्यालय प्रतिबद्ध रहेको जनाएको छ।








