महोत्तरी । महोत्तरी जिल्लाका बालक्लव तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले वाल परामर्श बैठकको माध्यमबाट योजना तर्जुमा र बजेट प्रक्रियामा बालबालिकाको पनि उपस्थिती गराउन माँग गरेको छ ।
स्थानीय सरकारको योजना तथा बजेट प्रक्रियामा बालबालिकाको आवाजलाई संस्थागत रुपमा समावेश गर्नु आवश्यक रहेको भन्दै बालक्लव तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले स्थानीयपालिकाका प्रमुखहरुलाई गुहार लगाइरहेका छन् । स्थानीय तहमा योजना तर्जुमा भइरहेको समयमा बालबालिकाको माँगहरुबारे समेत छलफल हुनु सकारात्मक रहेको छ ।




पछिल्लो समय जिल्लाको जलेश्वर तथा मटिहानी लगायतका नगरपालिकामा वाल परामर्श बैठकको माध्यमबाट बालबालिकाको आवाजलाई संस्थागत रुपमा अगाडी लग्न र बालमैत्री स्थानीय शासन प्रबद्र्धन गर्न आग्रह गरिरहेको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग, सेभ द चिल्डे्रन र सेभ द सप्तरीसँगको समझदारी तथा मटिहानी नगरपालिकाको समन्वय र सहकार्यमा मटिहानीमा सञ्चालित ‘गुणस्तरीय शिक्षा कोही पनि पछि नपरौं’ परियोजना अन्तर्गत आयोजना गरिएको वाल परामर्श बैठकमा समेत उपस्थित सहभागीहरुले बालमैत्री स्थानीय शासन प्रवद्र्धनको लागि बालबालिकाको उपस्थिती हुनुपर्नेमा जोड दिएका थिए ।
सेभ द सप्तरीका कार्यक्रम संयोजक प्रमोद कुमार महतोले मटिहानी नगरपालिकाका उपप्रमुख मंजु देवी साहको अध्यक्षतामा भएको बैठकमा बालबालिकाको अर्थपूर्ण सहभागिता बिना दिगो तथा समावेशी स्थानीय विकास सम्भव नभएको निष्कर्ष निकाल्दै व्यवस्थित सहजीकरण, तथ्यमा आधारित वकालत तथा वालमैत्री सहभागितामार्फत बालबालिकाका आवश्यकता र अधिकारलाई स्थानीय विकास योजनासँग जोडन सकिनेमा बैठकले जोड दिएको जानकारी दिनुभयो ।
बालबालिकाको सवाल, समस्या तथा आवश्यकता पहिचानको लागि बालबालिकाको उपस्थिती हुन जरुरी रहेको र यसले बाल सहभागिता सम्बन्धी स्थानीय तहमा अभ्यास पनि हुने निष्कर्ष निकाल्दै बैठकले हरेक वडाका पदाधिकारीहरुलाई बालबालिकालाई योजना तर्जुमा गर्दा सहभागिता गराउने निर्णय समेत गरेको कार्यक्रम संयोजक महतोले जानकारी दिनुभयो ।

स्थानीयतहले योजना तर्जुमा कार्यक्रम गर्दाको वखत बालबालिकाको उपस्थिती गराउँदा शिक्षा, बाल संरक्षण, स्वास्थ्य तथा पोषण, वालसहभागिता, समावेशीकरण तथा सामाजिक न्याय जस्ता एजेण्डाहरुको पनि पूर्णता हुने भएकोले यसमा जोड दिइने मटिहानी नगरपालिकाका उपप्रमुख मंजु देवी साहले बताइन ।
उहाँले बालिबालिकाको माँग र आवश्यकता अनुसार नै योजना निर्माण र कार्यान्वयन गर्ने प्रतिवद्धता समेत बैठकमा व्यक्त गर्नुभएको थियो ।
यसैबीच, जलेश्वर नगरपालिकामा पनि स्थानीयतहको योजना तर्जुमा प्रक्रियामा अर्थपूर्ण बालसहभागिताको लागि नगरपालिकास्तरीय भेला गरिएको छ । सो भेलामा बालबालिकाहरुले विकासका प्राथमिकताहरु समेटेर बनाइएको चार्ट प्रस्तुत गर्दै जनप्रतिनिधिहरुलाई आफुहरुको आवश्यकता औल्याएका थिए ।
सो चार्टमा बालबालिकाहरुले शिक्षा, सडक, खानेपानी, सरसफाई, खेल मैदानलगायतका विषयहरु समेटेका थिए । जलेश्वर नगरपालिकाका उपप्रमुख रौशन खातुनले बालबालिकाबाट उठाइएका सुझाव र माँगहरुलाई सम्बोधन गरिने आश्वासन दिनुहुदै सम्पूर्ण वडाध्यक्षहरुलाई आफ्नो वडामा योजना तर्जुमा गर्दा बालक्लव तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुलाई उपस्थिती गराउन निर्देशन दिनुभएको थियो ।
स्थानीयतहहरुमा वैशाख–जेठमा वडास्तर र विषयगत छलफल गरि असार १० भित्र बजेट तथा कार्यक्रम सभामा पेश गर्नुपर्ने र असार मसान्तभित्र पारित गर्नुपर्ने नियम रहेको छ । सोही अनुसार अहिले स्थानीयतहहरु विभिन्न भेला तथा बैठक गरेर योजना तर्जुमा गरिरहेका छन् ।




