सुजाता राई
विराटनगर। जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई सामाजिक सेवासँग जोड्ने उद्देश्यका साथ विराटनगर–१० निवासी चन्द्रप्रकाश रुम्दाली राईले असार १५ का दिन शुभ जन्म दिन परेको हुनाले विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई भोजन गराई प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।



ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका (ढुस्के)मा जन्मिएका राई नेपाल सरकारको स्वास्थ्य सेवामा रही विभिन्न स्वास्थ्य चौकीमा लामो समय सेवा गरेका व्यक्ति हुन्। त्यसपछि उनले बीएनएमटी (BNMT) परियोजनामा करिब १०–१२ वर्ष कार्य गरी हाल निवृत्त जीवन बिताइरहेका छन्। निवृत्तिपछि उनी पुस्तक अध्ययन, लेखन तथा सामाजिक सेवामा सक्रिय छन्।

आफ्नो जन्मदिनको अवसरमा राईले विराटेश्वर वृद्धाश्रममा आश्रित ६५ जना वृद्धवृद्धाका लागि भोजनको व्यवस्था गरेका हो। सो अवसरमा उनले वृद्धाश्रम संस्थापक जगत आर्याललाई भोजन व्यवस्थापनका लागि आवश्यक रकम हस्तान्तरण गरेका हुन् ।
यहीँ समयमा रुम्दालीले आश्रमको खाली भूमिमा वृक्षारोपण पनि गरेका थिए।
कार्यक्रममा लायन्स क्लब अफ इनोभेटिभका अध्यक्ष लक्ष्मी घिमिरे, पास्ट प्रेसिडेन्ट हाङकोन युमा राई, अञ्जुला कार्की, कोषाध्यक्ष सिर्जना अधिकारी, सदस्य अञ्जु राई, मञ्जु श्रेष्ठ तथा राईका छोरा डा. आशिष राईलगायतको उपस्थिति रहेको थियो।
केक काटेर जन्मदिनको शुभकामना आदानप्रदानसँगै सम्पन्न कार्यक्रममा सहभागीहरूले जन्मदिनलाई समाजसेवासँग जोड्ने कार्य अनुकरणीय रहेको बताएका छन् । राईले यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरे।




