बर्दिवासका शैक्षिक संस्थाहरू एकपछि अर्को गर्दै राष्ट्रिय स्तरका पुरस्कारबाट सम्मानित हुन थालेका छन्। फोकस नेपाल ले उत्कृष्ट शैक्षिक गुणस्तरको मूल्यांकनका आधारमा सनसाइन बोर्डिङ स्कुल, बर्दिवास–३ लाई राष्ट्रिय शैक्षिक पुरस्कारबाट सम्मानित गरेको हो।
यसअघि एक साताअघि मात्रै जनता माध्यमिक विद्यालय, बर्दिवास–२ पनि राष्ट्रिय सम्मानबाट विभूषित भएको थियो। त्यसलगत्तै सनसाइन बोर्डिङ स्कुलले पनि राष्ट्रिय स्तरको सम्मान प्राप्त गरेपछि बर्दिवासको शैक्षिक क्षेत्रले थप पहिचान बनाएको छ।



फोकस नेपालका अनुसार देशभरका उत्कृष्ट १५ विद्यालयमध्ये सनसाइन बोर्डिङ स्कुल पनि छनोटमा परेको हो। विद्यालयको शैक्षिक उपलब्धि, पठनपाठनको गुणस्तर, भौतिक पूर्वाधार, प्रयोगात्मक शिक्षण अभ्यास तथा समग्र शैक्षिक व्यवस्थापनलगायत विभिन्न सूचकका आधारमा मूल्यांकन गरी सम्मान प्रदान गरिएको जनाएको छ।
मधेश प्रदेशकै शैक्षिक केन्द्रका रूपमा परिचित बर्दिवासका विद्यालयहरू राष्ट्रिय स्तरमा उत्कृष्ट ठहरिन थालेपछि यसले नगरको शैक्षिक प्रतिष्ठा अझ मजबुत बनाएको स्थानीयहरूको भनाइ छ। यसबाट बर्दिवासलाई शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ।
वि.सं. २०५७ मंसिर २२ गते स्थापना भएको सनसाइन बोर्डिङ स्कुलले स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्दै बर्दिवासलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। विद्यालयले हरेक वर्ष उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै आफ्नो छुट्टै पहिचान कायम राख्न सफल भएको छ।
विद्यालयका प्रधानाध्यापक दिपक रायमाझीले यो सम्मान अभिभावकहरूको विश्वास, माया र निरन्तर सुझावको प्रतिफल भएको बताए। उनले यस सम्मानले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय परिवारलाई थप प्रेरणा र जिम्मेवारी दिएको उल्लेख गरे।
राष्ट्रिय पुरस्कार प्राप्तिको अवसरमा विद्यालयले शिक्षक, विद्यार्थी, अभिभावक तथा कर्मचारीहरूको सहभागितामा विशेष कार्यक्रम आयोजना गरी खुसी साटासाट गरेको थियो।




