महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वरमा डायलासिस सेवा सुचारु भएपछि यसक्षेत्रका मिर्गौलाका बिरामी तथा तिनका कुरुवा (परिवार)लाई राहत मिलेको छ ।
जिल्लाको सम्सी गाउँपालिका वडानं.३ घर भई हाल जलेश्वर नगरपालिका वडानं.२ मा बस्दै आउनुभएका मिर्गौलाका बिरामी शेख शकिल अख्तरका छोरा याकुव शकिलले डायलायसिस सेवा सुचारु भएपछि आफूहरुलाई ठुलो राहत मिलेको बताउनुभयो ।



प्रादेशिक अस्पताल जलेश्वरले यही २०८२ चैत्र १८ गतेदेखि छ थान डायलायसिस मेसि सेवा सुरु गरेको हो । हरेक दुईतीन दिनमा बुबाको डायलासिस गराउनुपर्ने वाध्यता रहेको बताउनुहुँदै याकुवले भन्नुभयो,“यो भन्दा अगाडि बुबालाई डायलासिसको लागि १५ किलोमिटर टाढा जनकपुरमा एम्बुलेन्सबाट लिएर जानुपर्थ्यो ।” आर्थिक रूपमा कमजोर परिवारका लागि बारम्बार यात्रा गर्नु निकै कठिन हुने गरेको सम्झनुहुँदै याकुवले भन्नुभयो,“अब आफ्नै ठाउँमा सेवा उपलब्ध भएपछि आर्थिक तथा समय दुवैको बचतको साथसाथै उपचार सहज र पहुँचयोग्य बनेको छ ।”
उहाँले मिर्गौला बिरामीका लागि डायलासिस सेवा वरदान भएको र प्रादेशिक अस्पताल जलेश्वरमा डायलासिस सेवा सुचारु भएपछि राहत भएपनि कार्यालय समयमा मात्रै सेवा सुचारुले गर्दा आफूहरूमा डर पैदा भएको बताउनुभयो ।
उहाँले डायलासिस सेवा इमर्जेन्सी सेवा भएकोले यसलाई २४ घण्टा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।जलेश्वर नगरपालिका वडा नं.७ बस्ने अञ्जली कुमारीले जलेश्वर अस्पतालमा डायलासिस सेवा सुचारु भई सेवा लिइरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले बुबा लालबाबु यादवलाई हरेक दुईतीन दिनमा डायलासिस गराउनुपर्ने वाध्यता रहेको बताउनुहुँदै जलेश्वर अस्पतालमा डायलासिस सेवा शुरु भएपछि आर्थिक बोझका साथसाथै हैरानी कम भएको बताउनुभयो ।
डायलासिसको लागि जनकपुर लानु पर्दा गाडी भाडा, समय तथा अन्य खर्चले हैरानी बनाएको सम्झिनुहुँदै जलेश्वरमा सुविधा प्राप्त भएपछि आफूहरुलाई केही राहत महसुस भएको बताउनुभयो ।
त्यसैगरी प्रादेशिक अस्पताल जलेश्वरमा डायलासिसका लागि आमालाई ल्याउने सोनमा गाउँपालिकाका युवा नवीन कुमार मण्डलले जलेश्वरमा डायलासिस सेवा सुचारु पछि राहत महसुस भएपनि रगत अभावमा भने सास्ती खेप्नु परिरहेको बताउनुभयो।
आमा सुन्दरकला देवी मण्डललाई डायलासिस गराउँदा रगतको पनि आवश्यकता पर्ने गरिएकोमा प्रादेशिक अस्पताल जलेश्वरबाट रगतको पनि जोहो भइदिए तनाव पनि कम हुने बताउनुभयो ।
प्रादेशिक अस्पताल जलेश्वरका डायलासिस शाखा प्रमुख विवेक कुमार यादवले छ थान डायलासिस मेसिनमा पाँच थान चालु अवस्थामा राखिएको र एकथान इमर्जेन्सीको बेला प्रयोग गरिने गरिएको बताउनुभयो ।
बिरामीको चाप बढ्दै गएको छ तर जनशक्ति अभावमा कार्यालय समयमा मात्रै डायलासिस चलाउनुपर्ने वाध्यता रहेको डायलासिस शाखा प्रमुख यादवले जानकारी दिनुभयो। उहाँले अहिले नियमित रुपमा १२ जना बिरामीहरु डायलासिसको सेवा लिइरहेको जानकारी दिनुभयो ।
प्रादेशिक अस्पताल जलेश्वरमा डायलासिस सेवा सञ्चालन हुनु यस क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि भए पनि रगतको अभाव हुन नदिन तथा डायलासिस सेवा २४ घण्टा सञ्चालन गर्नुपर्ने गरि कार्य अगाडि बढाउन सरोकारबाला निकायलाई डायलासिस गराइरहेका बिरामी कुरुवाले आग्रह गरेका छन् ।




