बिहानको पहिलो किरणसँगै महोत्तरीको रातु नदीको किनारबाट एक व्यक्ति जलको कलश बोकेर उल्टो साईकल यात्रामा निस्किए।
गन्तव्य थियो, देशकै प्रसिद्ध बाबाधामका रूपमा चिनिने टुटेश्वरनाथ मन्दिर। सामान्य धार्मिक यात्रा जस्तो देखिने यो दृश्यको लागि उनले अघिल्लो दिन नै पत्रकार सम्मेलन गरेर सबैलाई यस यात्राको साक्षी बन्न आह्वान गरेका थिए।
नदीबाट जल लगेर शिवलिङ्गमा चढाउनु त सामान्य धार्मिक अभ्यास हो, त्यसका लागि पत्रकार सम्मेलन किन? कतिपयले यसलाई सस्तो प्रचारबाजी मात्र भएको बिश्लेशन गरे ।तर बर्दिवासका स्थानीय जीवनाथ पोखरेलको उद्देश्य एउटा बिर्सिँदै गएको ऐतिहासिक र सांस्कृतिक सम्बन्धलाई पुनः उजागर गर्नु थियो।
“रातु नदी र टुटेश्वरनाथ मन्दिरबीचको सम्बन्ध धार्मिक आस्थामा मात्र सीमित छैन। यी दुवै एकअर्काका परिपूरक हुन्। यही सन्देश सबै भक्तजनसम्म पु¥याउन पत्रकार सम्मेलन गरिएको हो ।” पोखरेलले भने। “यो सम्बन्धको कथा नयाँ पुस्ताले पनि जान्नुपर्छ ।”



पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो साइकल चलाएर शान्तिको सन्देश फैलाइसकेका पोखरेलले रातु नदीबाट भरिएको जल उल्टो साइकल चलाउँदै टुटेश्वरनाथ मन्दिरसम्म पु¥याए र भगवान शिवलाई अर्पण गरे। तर आखिर किन रातुको जल टुटेश्वरनाथका लागि यति विशेष मानिन्छ? किन एक स्थानीयले यसको सम्बन्ध उजागर गर्न पत्रकार सम्मेलनसम्म गर्नुप¥यो? यी प्रश्नको उत्तर खोज्न टुटेश्वरनाथ मन्दिरको इतिहास, स्थानीय जनविश्वास र रातु नदीसँग गाँसिएको सदियौँ पुरानो सम्बन्धको रहस्य बुझ्न आवश्यक हुन्छ।
के छ त्यस्तो सम्बन्ध ?
टुटेश्वरनाथ महादेव मन्दिरको अस्तित्व त्रेता युगदेखि रहेको हुन सक्ने अनुमान विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक आधारहरूले गर्न सकिन्छ।
ज्योतिष तथा धार्मिक अध्येताहरूका अनुसार भगवान श्रीरामको युग अर्थात् त्रेता युग करिब सात हजार वर्षअघि रहेको मान्यता छ। रातु नदी, टुटेश्वरनाथ महादेव मन्दिर र जनक युगसँग सम्बन्धित अनेकौँ धार्मिक कथाहरू पनि यसै क्षेत्रसँग जोडिएका छन्।
धार्मिक किंवदन्तीअनुसार माता सीताको स्वयंवरका लागि भगवान श्रीराम यही बाटो भएर जनकपुर पुगेका थिए। त्यस क्रममा रामसँग आएका बरियातीहरूले रातु नदीमा विश्राम गर्नुका साथै स्नान गरेको जनविश्वास रहेको छ। धार्मिक अध्येता गोपाल कार्कीका अनुसार यही कारणले पनि रातु नदीको पानीलाई पवित्र मान्ने परम्परा रहिआएको छ ।

रातु नदीसँग मानव सभ्यताको प्राचीन इतिहाससमेत जोडिएको देखिन्छ। जर्मन पुरातत्त्वविद् गुड्रुन कोर्विनस (न्गमचगल ऋयचखष्लगक) ले आफ्नो पुस्तकमा रातु नदी आसपासको क्षेत्रमा मध्यपाषाण युग (करिब ७ हजारदेखि १२ हजार वर्षअघिको अवधि) मा मानव बसोबास रहेको उल्लेख गरेकी छन्।
कोर्विनसका अनुसार तत्कालीन मानवहरूले जीविकोपार्जनका लागि यस क्षेत्रमा ढुंगे औजार उत्पादन गर्ने कार्य औद्योगिक स्तरमै गरेका थिए। यस क्षेत्रबाट फेला परेका ढुंगे औजार तथा अन्य पुरातात्त्विक अवशेषहरूले त्यस समय यहाँ मानव गतिविधि रहेको संकेत गर्छन्।
पुरातत्त्वविद्हरूका अनुसार रातु नदी आसपासको क्षेत्र तत्कालीन मानवको स्थायी बसोबासको केन्द्र थिया े। उनीहरू रातु नदीको जल चढाउन टुटेश्वरनाथ महादेव मन्दिरसम्म पुग्ने, मन्दिर वरपर केही दिन बस्ने गरेको हुन सक्ने अनुमान पनि त्यहाँ फेला परेका पुरातात्त्विक अवशेषका आधारमा गरिएको छ ।
रातु नदी आसपासको पाटु क्षेत्रमा अध्ययन गर्न आएका भारतीय पुरातत्त्वविद् मञ्जित हजारियाले पनि टुटेश्वरनाथ मन्दिर वरपर थप विस्तृत पुरातात्त्विक अनुसन्धान आवश्यक रहेको बताएका थिए। नेपालको पुरातत्त्व विभागको अनुरोधमा अध्ययनका लागि आएका उनले आफ्नो प्रतिवेदनमा यस क्षेत्र दक्षिण एसियाकै महत्वपूर्ण पुरातात्त्विक क्षेत्रमध्ये एक हुन सक्ने उल्लेख गरेका छन्।
उनका अनुसार यहाँ विस्तृत पुरातात्त्विक अनुसन्धान गर्न सकिए टुटेश्वरनाथ महादेव मन्दिरको इतिहास र यस क्षेत्रको प्राचीन सभ्यतासँगको सम्बन्धबारे थप महत्वपूर्ण तथ्यहरू उजागर हुन सक्छन्।
इतिहासविद्हरूका अनुसार मध्यपाषाण युगको मानव बसोबास र टुटेश्वरनाथ महादेव मन्दिरको प्राचीन अस्तित्वबीच सम्भावित सम्बन्ध हुन सक्छ। त्यसैले रातु नदी आसपासको क्षेत्र र टुटेश्वरनाथ मन्दिरको ऐतिहासिक तथा पुरातात्त्विक महत्वबारे थप वैज्ञानिक अध्ययन आवश्यक रहेको उनीहरूको धारणा छ ।
फिरगीं सेना र रातु नदी अनि टुटेश्वर
रातु नदीको सभ्यताबारे जर्मन पुरातत्त्वविद् गुड्रुन कोर्विनस (न्गमचगल ऋयचखष्लगक) ले गरेको अनुसन्धान मात्र होइन, सन् १७६८ मा नेपाल आक्रमणका क्रममा आएका ब्रिटिस (ईस्ट इन्डिया कम्पनी) सेनाका कमाण्डर कर्नेल जर्ज किनलक (न्भयचनभ प्ष्लयिअज) को हस्तलिखित डायरीमा गरिएको वर्णनले पनि रातु नदीको ऐतिहासिक महत्वलाई उजागर गर्छ।
लेखक तथा साहित्यकार जगदीश घिमिरेले आफ्नो ‘सिन्धुली र मकवानपुर विजय’ शीर्षकको लेखमा किनलकको डायरीलाई उद्धृत गर्दै रातु नदीको प्रसंग उल्लेख गरेका छन्। उक्त लेखअनुसार, किनलकको डायरी जर्मनीको एक संग्रहालयमा सुरक्षित रहेको उल्लेख गरिएको छ। डायरीमा लेखिएको छ– ‘रातु नदीको बगरमा खोला बगिरहेको थियो। त्यहाँ आएको भेलले धेरै हतियार र रसद बगायो।’
अर्को प्रसंगमा किनलकले लेखेका छन्– ‘मैले हतियार पारि लैजान आदेश दिएँ। म स्वयं पनि खोला तर्न लागेँ। खोलाले मलाई करिब २५ गजसम्म बगायो, धन्न ज्यान जोगियो ।’
इतिहासअनुसार करिब २,४०० सैनिकको नेतृत्व गर्दै किनलक सन् १७६८ अगस्ट २६ मा पटनाबाट नेपालतर्फ अघि बढेका थिए। सिन्धुलीगढीतर्फको यात्राका क्रममा रातु नदीको बाढीले उनीहरूको अभियानलाई ठूलो चुनौती दिएको विभिन्न ऐतिहासिक स्रोतहरूमा उल्लेख पाइन्छ।

यही घटनाक्रमसँग टुटेश्वरनाथ महादेव मन्दिरलाई जोड्ने एउटा प्रचलित जनश्रुति पनि रहेको पाइन्छ। स्थानीयहरूको कथनअनुसार नेपाल प्रवेशका क्रममा सैनिकहरूले टुटेश्वर क्षेत्रमा रहेको एउटा सुन्दर ढुंगाको बसाहा (नन्दी) देखे र त्यसलाई आफूसँग लिएर गए। तर, सिन्धुली पुगेको भोलिपल्ट उक्त ढुंगा रहस्यमय रूपमा हरायो। खोजी गर्दै जाँदा सैनिकहरूले त्यसलाई पुनः टुटेश्वर क्षेत्रमै, जहाँबाट ल्याइएको थियो त्यही स्थानमा फेला पारेको जनविश्वास छ ।
त्यसपछि रातिको समयमा उक्त ढुंगाको बसाहा सजीव भई किसानहरूको बाली खान जाने गरेको किंवदन्ती प्रचलित छ। एक दिन स्थानीय किसानहरूले त्यसलाई समातेर कुटपिट गर्दा एउटा कान काटिएको बताइन्छ। पछि उक्त ढुंगाको बसाहामा एउटा कान मात्र रहेको देखेपछि स्थानीयले त्यसलाई दैवी चमत्कारका रूपमा स्वीकार गरी पूजा–आराधना गर्न थाले।
स्थानीय शिक्षक अमर विकले लेखेको एक लेखमा पनि यही जनश्रुतिको उल्लेख गरिएको छ। उनका अनुसार त्यही घटनापछि मन्दिरलाई ’टुटेश्वर’ नामले चिनिन थालेको जनविश्वास रहेको छ।
यद्यपि, यस सम्बन्धमा हालसम्म कुनै ठोस ऐतिहासिक वा पुरातात्त्विक प्रमाण सार्वजनिक भएको छैन। त्यसैले यो प्रसंगलाई स्थानीय जनश्रुति वा धार्मिक विश्वासका रूपमा लिनुपर्ने देखिन्छ।
यदि जनश्रुतिलाई आधार मान्ने हो भने, टुटेश्वरनाथ महादेव मन्दिरको धार्मिक अस्तित्व अत्यन्त प्राचीन भए पनि ’टुटेश्वर’ नामकरण भने करिब सन् १७६८ पछि, अर्थात् करिब २५० वर्षअघि भएको हुन सक्ने अनुमान गर्न सकिन्छ। यद्यपि, यस विषयमा यथार्थ निष्कर्ष निकाल्न थप ऐतिहासिक तथा पुरातात्त्विक अनुसन्धान गर्नुपर्ने स्थानियहरुको माग रहेको छ ।
टुटेश्वरनाथ मन्दिर र रातु सभ्यता
धार्मिक अध्येताहरूका अनुसार भगवान श्रीराम र माता सीताको मिथिलादेखि अयोध्यासम्मको यात्रासँग रातु नदी र टुटेश्वरनाथ महादेव मन्दिर क्षेत्र जोडिएको जनविश्वास रहिआएको छ। यस क्षेत्र वरपर रहेका धार्मिक स्थल, स्थानीय किंवदन्ती तथा सांस्कृतिक परम्पराले पनि त्यस विश्वासलाई निरन्तरता दिएका छन्।
धार्मिक अध्येता गोपाल कार्कीका अनुसार टुटेश्वरनाथ महादेव मन्दिर, राईमण्डल, रातु नदी र गौरीडाँडा एकअर्कासँग धार्मिक तथा सांस्कृतिक रूपमा सम्बन्धित स्थल हुन्।
जनश्रुतिअनुसार भगवान श्रीराम र माता सीता अयोध्या फर्कने क्रममा रातु नदीमा स्नान गरी टुटेश्वर क्षेत्रमा विश्राम गरेका थिए। त्यसबेला उनीहरूको सुरक्षाका लागि आएका सयौँ जटायूहरू आसपासका अग्ला डाँडाहरूमा बसेर निगरानी गरिरहेका थिए भन्ने विश्वास स्थानीय समुदायमा प्रचलित छ।
कार्कीका अनुसार केही जटायू भगवान रामसँगै अयोध्या फर्किए भने केही यही क्षेत्रमा बसे। अहिले राईमण्डल क्षेत्रमा पाइने गिद्ध (जटायूको प्रतीकका रूपमा लिइने) हरूलाई पनि यही धार्मिक विश्वाससँग जोडेर हेरिन्छ।
टुटेश्वर क्षेत्र वरपर माण्डवी गंगा तथा अन्य सहायक नदीहरू भए पनि शिवपूजाका लागि जल अर्पण गर्न विशेष रूपमा रातु नदीको पानी नै प्रयोग गर्ने परम्परा रहेको धार्मिक अध्येताहरूको भनाइ छ।
यस क्षेत्रसँग महाभारतकालीन अर्को किंवदन्ती पनि जोडिएको छ। धार्मिक विश्वासअनुसार अर्जुनले टुटेश्वर क्षेत्रमा कठोर तपस्या गरेका थिए। तपस्याबाट प्रसन्न भई भगवान महादेव प्रकट भएको, अर्जुनलाई दर्शन दिएको तथा दिव्य अस्त्र–शस्त्रको वरदान प्रदान गरेको विभिन्न धार्मिक ग्रन्थ र जनश्रुतिमा उल्लेख पाइन्छ। विशेषगरी अर्जुनले यही तपस्याबाट पाशुपतास्त्र प्राप्त गरेको विश्वास प्रचलित छ।
जनविश्वासअनुसार अर्जुनले घना जंगल, एकान्त वातावरण र चुरेको उच्च स्थानमा तपस्या गरेका कारण टुटेश्वरनाथ महादेव मन्दिरलाई अहिले ’मधेशको कैलास’ समेत भन्ने गरिन्छ। महादेवको वासस्थान उच्च हिमशिखर वा अग्ला स्थानमा हुने धार्मिक मान्यतासँग जोडेर स्थानीयवासीले चुरेको यस क्षेत्रलाई सामान्य बोलचालमै ’कैलास’ भन्ने गरेको पाइन्छ।
स्थानीय समुदायमा अर्को रोचक धार्मिक किंवदन्ती पनि प्रचलित छ। त्यसअनुसार भगवान महादेव विभिन्न स्वरूपमा यही चुरे क्षेत्रमा वास गर्ने र सर्पलाई आफ्नो आभूषणका रूपमा धारण गर्ने विश्वास गरिन्छ। यही विश्वाससँग जोडेर गौरीडाँडा क्षेत्रलाई सर्पहरूको महत्वपूर्ण बासस्थानका रूपमा समेत लिने गरिएको छ।
वैज्ञानिक दृष्टिकोणबाट हेर्दा पनि गौरीडाँडा क्षेत्र सर्पहरूको महत्वपूर्ण आवासका रूपमा परिचित छ। यस क्षेत्रमा जर्मन र फ्रान्सेली अनुसन्धानकर्ताहरूले विभिन्न समयमा स्थलगत अध्ययन गरेका छन्। त्यसपछि नेपाली अनुसन्धानकर्ताहरूले समेत अध्ययनलाई निरन्तरता दिएका छन्। यही अध्ययनका आधारमा गौरीडाँडा क्षेत्र नेपालकै महत्वपूर्ण सर्प आवास (क्लबपभ ज्यतकउयत) मध्ये एकका रूपमा चिनिन थालेको हो।
यस क्षेत्रको जैविक विविधता, भूगर्भीय संरचना तथा चुरे पर्वत शृंखलाको विकासक्रमबारे डा. सोमनाथ सापकोटा, डा. अनिल पोखरेललगायतका नेपाली विज्ञहरूले पनि अध्ययन गरेका छन्। उनीहरूले चुरे क्षेत्रको भूगर्भीय इतिहास, प्राकृतिक संरचना तथा यस क्षेत्रको जैविक महत्वका विषयमा अनुसन्धान गर्दै शैक्षिक अध्ययनसमेत गरेका छन्।
इतिहास, धार्मिक विश्वास, पुरातात्त्विक सम्भावना र प्राकृतिक सम्पदालाई एकैसाथ समेटेको टुटेश्वरनाथ–रातु नदी क्षेत्र थप वैज्ञानिक तथा पुरातात्त्विक अनुसन्धानको प्रतीक्षामा रहेको इतिहासविद् तथा अनुसन्धानकर्ताहरूको भनाइ छ।





