जनकपुरधाम। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप तथा त्यसपछि सिरहा, धनुषा, पर्सालगायत मधेशका विभिन्न जिल्लामा भएका विरोध प्रदर्शनका क्रममा भएको मानवीय क्षतिप्रति मधेश प्रदेशका मानवअधिकारकर्मीहरूले गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्।
संयुक्त प्रेस विज्ञप्तिमार्फत मानवअधिकारकर्मीहरूले सुनसरीको देवानगञ्जमा गोली लागेर ओमप्रकाश मेहताको मृत्यु, उपचारका क्रममा जयप्रकाश मेहताको निधन तथा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर औरही गाउँपालिका–२ का १८ वर्षीय गणेश यादवको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।



विज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेका बाँच्न पाउने हक, स्वतन्त्रता, समानता तथा धार्मिक स्वतन्त्रताको सम्मान गर्दै शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारको संरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ। हिंसा, मानवअधिकार उल्लङ्घन र संविधानविपरीतका गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने उनीहरूको भनाइ छ।
मानवअधिकारकर्मीहरूले सिरहा, सुनसरीलगायत जिल्लामा भएका घटनाको उच्चस्तरीय, स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन, सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेका छन्। साथै देशमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।
विज्ञप्तिमा प्रदर्शनका क्रममा बालबालिकासमेत अग्रपङ्क्तिमा देखिएको तथा उनीहरू जोखिममा परेको उल्लेख गर्दै कर्फ्यु वा निषेधाज्ञाको समयमा बालबालिकालाई सुरक्षित रूपमा घरमै राख्न अभिभावकसँग विशेष अपिल गरिएको छ। त्यस्तै, अफवाह र भ्रामक सूचनाको पछि नलागी राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै नागरिकसँग आग्रह गरिएको छ।
संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने संस्था तथा प्रतिनिधिहरू:
इन्सेक मधेश प्रदेश – राजु पासवान (प्रदेश संयोजक)
एडभोकेसी फोरम नेपाल, मधेश प्रदेश – राजकुमार महासेठ (प्रदेश संयोजक)
गैरसरकारी संस्था महासंघ मधेश प्रदेश – रामबाबु साह (प्रदेश अध्यक्ष)
एम्नेष्टि इन्टरनेशनल – जमुनामुना भुजेभुजेल
कायापलट – दिवाकर उप्रेती (संस्थापक अध्यक्ष)
सूचनाको हकका लागि राष्ट्रिय महासंघ, मधेश प्रदेश समिति – अजय साह (प्रदेश अध्यक्ष)
नील हिरा समाज, मधेश प्रदेश – प्रदीप यादव (प्रदेश संयोजक)
नेपाल मानव अधिकार संगठन – वीरेन्द्र कर्ण (अध्यक्ष)
मानव अधिकारका लागि एकल समूह – सुभसुद्रा आले (अध्यक्ष)
उज्यालो समाज नेपाल – अमित मिश्र (कार्यकारी निर्देशक)
दलित महिला संघ – सिजेन्द्र सदा (जिल्ला परियोजना संयोजक)
आफन्त नेपाल – अमृता घिमिरे (संयोजक)
ग्रीन स्पेस नेपाल – धिरज साह (अध्यक्ष)
महिला मैत्री समाज – संजु यादव (अध्यक्ष)
मानव अधिकार रक्षक सञ्जाल – रञ्जन भण्डारी (प्रदेश सदस्य)
मुक्ति नेपाल – विनोद महरा (कार्यक्रम संयोजक)





