जनकपुरधाम । धनुषा जिल्लामा जारी गरिएको कर्फ्यु आदेश हटाइ निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार सूचना जारी गर्दै साउन १४ गते दिउँसो ३ः३० बजेदेखि लागू गरिएको कर्फ्यु आदेश शनिबार बिहान १० बजेदेखि हटाइएको जनाएको हो।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयपछि कर्फ्यु हटाइएको भए पनि अर्को आदेश नभएसम्मका लागि निश्चित क्षेत्रमा निषेधाज्ञा भने यथावत् रहेको छ।



स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी निषेधाज्ञाअनुसार तोकिएका चार किल्लाभित्र पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। प्रशासनले निषेधाज्ञाको उल्लङ्घन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ।
प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार निषेधाज्ञा लागू हुने क्षेत्रको उत्तरमा लक्ष्मीनियाँ हाटबजार चोकदेखि सिनुरजोडा चोक हुँदै लक्ष्मीपुर बेङ्गासम्म, पूर्वमा बेलौनी रोडस्थित एमक्यु स्टिलबाट करिब ५०० मिटर पूर्व पेट्रोल पम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणमा नगराइन नगरपालिका क्षेत्रदेखि नगराइन चोकसम्म तथा पश्चिममा सिनुरजोडा –सोहनी–मनिमण्डप–नेपाल नर्सरी–इस्कोन जनकपुर–दुधमती पुल–बेला–कादरी मस्जिदसम्मको क्षेत्र समेटिएको छ।
जिल्ला प्रशासन कार्यालयले नागरिकलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न तथा कुनै पनि अफवाहको पछि नलाग्न आग्रह गरेको छ। साथै सुरक्षा निकायसँग समन्वय गरी जिल्लाको सुरक्षा अवस्थालाई निरन्तर निगरानीमा राखिएको प्रशासनले जनाएको छ।
पछिल्ला दिनमा जिल्लामा उत्पन्न असामान्य परिस्थितिलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाएको जनाएको छ। नागरिकलाई कानुनको पालना गर्दै सामान्य जनजीवनलाई सहज बनाउन सहयोग गर्न पनि प्रशासनले अपिल गरेको छ।






