महोत्तरी – महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना हुँदा ५ बालबालिकासहित ६ जना घाइते भएका छन् ।
गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा बिहान करिब साढे ७ बजे दुर्घटना भएको हो । इमली बजारबाट गौशालातर्फ जाँदै गरेको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस अनियन्त्रित भई सडकबाट उखुबारीमा खसेको प्रहरीले जनाएको छ ।



दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ का करिब ४० वर्षीय विजय भुजेल घाइते भएका छन् । यस्तै गौशाला–११ का महेश्वर महतोका छोराहरू १० वर्षीय प्रतीक कुशवाहा, आठ वर्षीय प्रज्वल कुशवाहा र १३ वर्षीया छोरी प्रिती कुशवाहा घाइते भएका छन् ।
त्यसैगरी गौशाला–९ का शेख जावेदका १३ वर्षीय छोरा उमर शेख र गौशाला–११ का रमेश कुमार महतोका छ वर्षीय छोरा आदर्श कुशवाहा घाइते भएका छन् ।
महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार दुर्घटनालगत्तै प्रहरी चौकी कान्तिबजारबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि बीके अस्पताल गौशाला तथा स्थानीय स्वास्थ्य संस्थामा पठाएको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।





