महोत्तरी,(औरही )– महोत्तरीको औरही नगरपालिका–१ औरही गाउँबाट दक्षिणतर्फ कृषि सिँचाइका लागि जडान गरिएको १०० केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर चोरी भएपछि किसान मर्कामा परेका छन् । पर्याप्त वर्षा नभएको समयमा सिँचाइको एक मात्र भरपर्दो विकल्पका रूपमा रहेको ट्रान्सफर्मर चोरी भएपछि किसानलाई धानबालीमा पानी हाल्न समस्या भएको हो ।औरही नगरपालिका–१ औरहीबाट भंगहा नगरपालिका–७ मेघरौल जाने सडकको बीचमा पर्ने चौरी (खेत) मा किसानको सिँचाइ सुविधाका लागि उक्त ट्रान्सफर्मर जडान गरिएको थियो । गत आर्थिक वर्ष २०८२/०३/२८ गते जडान गरिएको ट्रान्सफर्मर राति अन्दाजी १२ बजेको समयमा चोरी भएको स्थानीयले बताएका छन् ।

औरही नगरपालिका–१ का स्थानीय सन्तोषकुमार यादवका अनुसार चोरी गर्ने समूहले ११ हजार भोल्टको विद्युत् लाइनबाट ट्रान्सफर्मरमा जोडिएको तार हटाएर १०० केभीए क्षमताको ट्रान्सफर्मर चोरी गरेको हो । ट्रान्सफर्मरभित्र रहेको तामाको तार र तेलका लागि चोरी गरिएको हुनसक्ने स्थानीयको भनाइ छ । ट्रान्सफर्मर चोरी भएपछि उक्त क्षेत्रका किसानलाई धानबालीमा सिँचाइ गर्न समस्या भएको छ । गाउँबाट दक्षिणतर्फ खेतमा कृषि सिँचाइका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएपछि किसान अहिले आकाशे पानीको भरमा पर्नुपर्ने अवस्था आएको छ । औरही नगरपालिका–१ का किसान बिपिन यादवले सिँचाइको भरपर्दो विकल्प नभएको अवस्थामा ट्रान्सफर्मर चोरी भएपछि किसान थप समस्यामा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “धानबालीमा पानी हाल्ने समयमा ट्रान्सफर्मर चोरी भएपछि खेतमा सिँचाइ गर्न समस्या भएको छ । समयमा पानी हाल्न नसके धानबाली बिग्रिने चिन्ता छ । किसानको मेहनत र लगानी खेर जाने अवस्था आएको छ ।”




औरही नगरपालिका–१ कै अर्का किसान अनिशकुमार यादवले यस वर्ष असारदेखि साउन सकिन लाग्दासम्म पर्याप्त वर्षा नभएको अवस्थामा सिँचाइका लागि रहेको एउटा विकल्पसमेत चोरी भएपछि किसान थप समस्यामा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष असारदेखि साउन सकिन लाग्दासम्म पर्याप्त वर्षा भएको छैन । धानबालीलाई पानीको आवश्यकता छ । सिँचाइका लागि एउटा विकल्प यही ट्रान्सफर्मर थियो, त्यो पनि चोरी भयो । अब खेतमा पानी कसरी हाल्ने भन्ने चिन्ता थपिएको छ ।” उहाँका अनुसार किसानले ऋण तथा आफ्नै लगानीमा धान खेती गरेका छन् । समयमा सिँचाइ गर्न नसके धानबालीमा असर पर्ने र किसानको लगानी जोखिममा पर्ने अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले चोरी भएको ट्रान्सफर्मर तत्काल खोजी गरी दोषीलाई कारबाही गर्न र सिँचाइ सेवा पुनः सञ्चालनका लागि नयाँ ट्रान्सफर्मर जडान गर्न माग गर्नुभयो ।

दुई वर्षमा १७ ट्रान्सफर्मर चोरी नेपाल विद्युत् प्राधिकरण गौशाला वितरण केन्द्र महोत्तरीअन्तर्गतको क्षेत्रमा पछिल्लो दुई वर्षमा मात्रै १७ वटा ट्रान्सफर्मर चोरी भएको जनाइएको छ । ग्रामीण तथा खेतबारी क्षेत्रमा कृषि सिँचाइका लागि जडान गरिएका ट्रान्सफर्मर चोरीका घटना दोहोरिँदा विद्युत् सेवा तथा कृषि सिँचाइ प्रभावित हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरण गौशाला शाखाका प्रमुख उपप्रबन्धक उमेशप्रसाद यादवका अनुसार यस क्षेत्रमा यसअघि घरायसी सामग्रीलगायत अन्य सामान चोरी हुने गरे पनि विद्युत्को मेन लाइन काटेर ट्रान्सफर्मर नै चोरी भएको घटना भने पहिलो हो । ट्रान्सफर्मर चोरी हुँदा विद्युत् सेवा अवरुद्ध हुनुका साथै कृषि सिँचाइमा निर्भर किसान प्रत्यक्ष प्रभावित हुने गरेका छन् । विशेषगरी धान खेतीका लागि पानी आवश्यक पर्ने समयमा ट्रान्सफर्मर चोरी हुँदा किसानको उत्पादनमा समेत असर पर्न सक्ने देखिएको छ । ट्रान्सफर्मर चोरीको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटनामा संलग्न समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय किसानले चोरीमा संलग्न समूहको पहिचान गरी कानुनी कारबाही गर्न, चोरी भएको ट्रान्सफर्मर खोजी गर्न तथा तत्काल नयाँ ट्रान्सफर्मर जडान गरी कृषि सिँचाइ सेवा सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । साथै, ग्रामीण क्षेत्रमा रहेका विद्युत् संरचनाको सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्ने उनीहरूको माग छ ।










