नागेन्द्रकुमार कर्ण
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–२ का सिद्धार्थ साहको घरपालुवा कुकुरलाई सडकमा रहेको भुस्याहा कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप लगाउन उहाँ साउन २९ गते भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महोत्तरी पुग्नुभयो । तर कार्यालयका कर्मचारी तथा चिकित्सकले अस्पतालमा रेबिजविरुद्धको खोप उपलब्ध नभएको भन्दै बाहिरबाट खरिद गरेर ल्याउन भनेको साहले बताउनुभयो । कार्यालयमा ८० रुपियाँपर्ने उक्त खोप बाहिर ५०० रुपियाँमा बिक्री हुने गरेको थाहा पाएपछि आफू आश्चर्यचकित भएको उहाँले बताउनुभयो ।
‘कार्यालयभन्दा झन्डै छ गुणा बढी मूल्यमा खोप पाउनु भनेको कालोबजारी हो? यसमा सम्बन्धित सबैले ध्यान दिन जरुरी छ,’ साहले भन्नुभयो ।



आफ्नो घरपालुवा कुकुरलाई हरेक वर्ष रेबिजविरुद्धको खोप लगाउँदै आए पनि यसपटक खोप लगाएको कुकुरलाई नै सडकको भुस्याहा कुकुरले टोकेपछि परिवारमा समेत रेबिजको जोखिम हुनसक्ने भन्दै आफू तनावमा रहेको साहले बताउनुभयो । अस्पताल यस विषयमा गम्भीर नभएको उहाँको आरोप छ ।
उहाँले खोपको उपलब्धताबारे लिखित जानकारी दिन अस्पताललाई आग्रह गर्दा चिकित्सकले ओपीडी टिकटमै पाँच हप्तादेखि रेबिजविरुद्धको खोप उपलब्ध नभएको उल्लेख गरी फर्काएको बताउनुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महोत्तरीका कार्यालय प्रमुख डा। इन्द्रेश झाले अहिले कार्यालयमा रेबिजविरुद्धको खोप २०० भाइल मौज्दात रहेको जानकारी दिनुभयो । पछिल्ला दुई वर्षयता रेबिजविरुद्धको खोपको माग बढ्दै गएको र मौज्दात घट्दै जाने गरेको बताउँदै उहाँले कार्यालयले खोपको कुनै कालोबजारी नगरेको दाबी गर्नुभयो ।
रेबिज भाइरस मुख्यतः संक्रमित जनावरको र्याल काटेको वा चिथोरेको घाउ तथा आँखा, मुखजस्ता संवेदनशील भागमा सम्पर्क हुँदा सर्न सक्ने भएकाले यसबाट सचेत रहन उहाँले आग्रह गर्नुभयो ।




