सुजाता राई
विराटनगर । हरिद्वार: चारुगंगा काव्य महोत्सव, हरिद्वारको आश्रममा नेपाल र भारतबाट भेला भएका दुईसय साहित्यकारले चारु महोत्सव प्रारम्भ गर्नुपूर्व भोटेकोसीको कहालीलाग्दो बाढीमा मृत्युभएका आत्माको चिरशान्तिको कामना गर्दै नेपाल , भारत , पोर्चुगल, अस्ट्रेलिया लगायत विभिन्न देशका नागरिकको असामयिक निधन भएकोमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौन धारण गरेका थिए।



सो समारोहमा भारतका सबै उन्तीस राज्यका साहित्यकार र नेपालबाट देवी पन्थी, ममता मृदुल, राधिका शर्मा ( विराटनगर ), दीपक गोस्वामी, अतुलकुमार शर्मा , ज्ञानप्रकाश उपाध्याय ( उत्तरप्रदेश), मेघनाथ बन्धु खनाल (झापा), पोम रेग्मी, लक्ष्मी भण्डारी (तेह्रथुम), रमेन्द्र कोइराला , रोशन पराजुली ( सुनसरी), डिबी कार्की ( नवलपुर), कल्पना पौडेल जिज्ञासु , ऋषिराम पौडेल ( नेपालगञ्ज) , चन्द्रावती अधिकारी ( कोहलपुर ) लगायत तेईसजना नेपाली साहित्यकारको उपस्थिति थियो। सो समारोहमा चारु, गजल र लघुकथाका साथै नव प्रविधा बाछिटा, उदक, झिल्का, सुसेली , चारु-आगो, खोरिया हिन्दी र नेपाली दुबै भाषामा वाचन गरिएका थिए।
बरिस्ठ चारुकार डिबी कार्कीको अध्यक्षता र सुप्रसिद्ध व्यंग्यकार , चारुकार तथा स्पर्शी पत्रिकाका सम्पादक अतुल कुमार शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको संचालन चारु साहित्य प्रतिष्ठानका अध्यक्ष देवी पन्थीले गरेका थिए।





