मधेश प्रदेशमा लागूऔषधको कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले अभियान तीव्र बनाए पनि यसको गतिविधि बढ्दै गएको देखिएको छ ।
प्रदेशका विभिन्न जिल्लामा बुधबार मात्रै प्रहरीले लागूऔषध तथा प्रतिबन्धित औषधिसहित चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दुई जना नेपाली र दुई जना भारतीय नागरिक रहेका छन् । पर्सामा मात्रै लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिकाका छुट्टाछुट्टै स्थानमा गरिएको कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका–१६, लिंकरोडस्थित होटल अमन प्यालेसमा सशस्त्र प्रहरीले छापा मार्दा ठूलो परिमाणमा ब्राउन सुगर अर्थात् खैरो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका हुन्।



भारतको बिहार राज्य, रक्सौल–१३ का करिब ३५ वर्षीय विशाल कुशवाहालाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले बुधबार दिउँसो होटलको कोठा नम्बर २०५ मा बुकिङ गरी बसेका कुशवाहालाई १३२ ग्राम ३२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । प्रहरीले कुशवाहाबाट बीआर ०५ बीएस ०४१९ नम्बरको कालो मोटरसाइकल, एक थान एन्ड्रोइड मोबाइल, नेपाली रुपैयाँ ३२ हजार १०० र भारतीय रुपैयाँ ४ हजार २०० समेत बरामद गरेको जनाएको छ । यसैगरी वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर चोकबाट ७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित अर्का भारतीय नागरिक पक्राउ परेका छन् ।
लागूऔषधको खरिद–बिक्री तथा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट परिचालित टोलीले जितपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कार रोकेर जाँच गरेको थियो । चेकजाँचका क्रममा चालकको सिटको माथिल्लो भागमा प्लास्टिकभित्र लुकाएर राखिएको अवस्थामा ७ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतको बिहार, पूर्वी चम्पारण, रक्सौल नगरपालिका–५ लोहडियाका ३१ वर्षीय दिनेश प्रसाद रहेका छन्। उनीमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
उता बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित वडा कार्यालय नजिकै पूर्वपश्चिम राजमार्गबाट प्रहरीले ठूलो परिमाणमा ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ । वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बसलाई राजमार्गमा चेकजाँच गर्ने क्रममा बसको हुड ¥याकमा राखिएका दुईवटा क्यारी ब्याग फेला परेका थिए । ती ब्याग खोल्दा १८ हजार ३ सय पिस ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ । ट्रामाडोलसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का करिब १९ वर्षीय आनन्द चौरसिया रहेका छन्। पक्राउ परेका चौरसियामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै सिरहाको लहानमा प्रहरीले प्रतिबन्धित औषधिसहित स्कारपियो गाडी नियन्त्रणमा लिएको छ । गाडीका चालकलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइएको सिरहा प्रहरीले जनाएको छ । लहान नगरपालिका–१० का करिब ४१ वर्षीय विजयकुमार बिसुके पक्राउ परेका हुन् । बुधबार बिहान लहान नगरपालिका–३ स्थित ठाडी चोकमा इलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बल सुरक्षा बेस लहानबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा ठाडीबाट लहानतर्फ आउँदै गरेको स १ च १४१४ नम्बरको स्कारपियोलाई चेकजाँच गर्दा गाडीबाट ओनरेक्स १०० नामको प्रतिबन्धित औषधि १२३ बोतल बरामद गरिएको हो ।
तीन वर्षमा २ हजार ८११ जना पक्राउ
पछिल्ला तीन आर्थिक वर्षमा प्रदेशका आठवटै जिल्लाबाट दुई हजार ८११ जनालाई प्रदेशका विभिन्न स्थानबाट पक्राउ गरेका छन् । सो अवधिमा लागूऔषधसम्बन्धी दुई हजार १२१ वटा मुद्दा दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा दुई हजार ५५४ नेपाली र २५४ विदेशी नागरिक रहेका छन् । गत आर्थिक वर्षमा मात्रै प्रदेशका विभिन्न जिल्लाबाट लागूऔषधसहित ७८६ नेपाली, ८४ भारतीय र एक जना अन्य विदेशी गरी ८७१ जना पक्राउ परेका थिए ।
उक्त अवधिमा लागूऔषधसम्बन्धी ६३० वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा लागूऔषधसहित ८३६ जना पक्राउ परेका थिए भने सो अवधिमा ५८५ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएका थिए । त्यसअघि आर्थिक वर्ष २०८०/८१ मा मधेश प्रदेशबाट लागूऔषधसहित एक हजार १०४ जना पक्राउ परेका थिए । उक्त वर्ष ७९७ वटा लागूऔषधसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक छ ।
प्रहरीका अनुसार सीमावर्ती भारतीय बजारमा पुगेर लागूऔषध सेवन गर्ने, खरिद गर्ने र नेपालतर्फ ल्याउने क्रममा पक्राउ पर्नेहरूमा युवाको संख्या उल्लेख्य छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी ओमप्रसाद अधिकारीका अनुसार लागूऔषध सेवन तथा कारोबारको आरोपमा पक्राउ पर्नेहरूमध्ये अधिकांश २० देखि ३० वर्ष उमेर समूहका युवा रहेका छन् ।




