काठमाडौँ – सिंगापुरबाट फर्केको एक महिना बित्दासमेत पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति गगन थापासँग भेटेर संवाद गर्न मानेका छैनन् । दुई नेता आमनेसामने नबन्दा पार्टीको आसन्न १५ औं महाधिवेशन नै अलग–अलग हुने सम्भावना बढेको छ ।
विवाद मिलाउन यसबीचमा सभापति थापाले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग संवाद गरिरहेका छन् । सोमबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले सिंगापुरबाट फर्केलगत्तै देउवासँग भेट्न पटक–पटक समय माग्दासमेत नपाएको बताएका थिए । महामन्त्री प्रदीप पौडेलका अनुसार थापाले प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट भेट्न प्रयास गरेका थिए ।



थापाले पहिलोपल्ट १ भदौमा देउवाका स्वकीय सचिव भानु देउवालाई समय मिलाइदिन आग्रह गरेका थिए । ‘दुई पटक मेरै अगाडि सभापतिजीले फोन गर्नुभएको थियो, त्यसअघि पनि प्रयास भएको थियो,’ पौडेलले भने, ‘विभिन्न व्यक्तिमार्फत पनि भेट्न खोज्नुभएको हो । तर संवाद हुन सकिरहेको छैन ।’
देउवाका प्रमुख स्वकीय सचिव भानुले जम्माजम्मी एक पटक मात्र समय मागिएको दाबी गरे । ‘उहाँले अलि अगाडि एक पटक फोन गर्नुभएको हो, मैले मंगलबार समय मिलाउनका लागि फोन गरेको थिएँ, उहाँले राजधानीबाहिर छु भन्नुभयो,’ उनले भने, ‘फर्केपछि फोन गर्नुहोला, त्यसपछि मिलिहाल्छ भन्ने कुरा छ ।’
देउवा सिंगापुरबाट फर्कनु एक साताअगाडि सर्वोच्चले ४ वैशाखको फैसला पुनरावलोकन हुने अनुमति (निस्सा) दिएको थियो । विशेष महाधिवेशन र त्यसबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई कानुनी वैधता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले अनुमोदन गर्ने फैसला पुनरावलोकनको प्रक्रियामा प्रवेश गरेको छ ।
पुनरावलोकनबाट आफैंले पार्टीको आधिकारिकता पाउने आत्मविश्वास देउवाले बुधबार आयोजित एक कार्यक्रममा पनि व्यक्त गरेका छन् । बीपी जयन्तीका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा देउवाले अदालतबाट ‘निस्सा’ पाउनु नै आफूहरूको आधा जित भएको बताए ।
‘सनाखत नगरी विशेष महाधिवेशन भनेर बोलाइयो । निर्वाचन आयोगका अध्यक्ष (त्यतिबेलाका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी) ज्यानको खतरा भयो भनेर बोलेको छ । यो मैले भनेको होइन । सबैले सुनेको छ । त्यत्रो त्रसित गराएको हो । त्यसका विरुद्ध हामीहरू सर्वोच्चमा गयौं । सर्वोच्चले चुनाव भइसक्यो, के गर्ने भन्यो । अति भएपछि हामी पुनरावलोकनमा गयौं,’ देउवाले भने, ‘सर्वोच्चले निस्सा दियो । यसबाटै हाम्रो आधाभन्दा बढी जित भइसक्यो ।’
उनले पुनरावलोकनबाट कांग्रेसको आधिकारिकता आफूहरूलाई दिनका लागि विभिन्न षड्यन्त्रबाट रोक्ने प्रयाससमेत भइरहेको बताए । पञ्चायतकाल र तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा समेत आफूले अदालतबाट न्याय पाएको प्रसंग उल्लेख गर्दै देउवाले कांग्रेससम्बन्धी विवादमा भने, ‘यसमा पनि सर्वोच्च अदालतले न्याय दिने कुरामा विश्वास छ । जसरी हामीलाई निस्सा दिएको छ, त्यस्तै रुख र चारतारे झन्डा हामीले पाउनेछौं भनेर विश्वास लिएको छु ।’
कार्यक्रममा देउवाका अतिरिक्त प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, एनपी साउद उपस्थित थिए ।
देउवा पक्षको नेतृत्व सम्हाल्दै आएका पूर्णबहादुर खड्का अहिले त्यस स्थानमा छैनन् । उनको ठाउँमा पूर्वमहामन्त्रीसमेत रहेका बीपी पुत्र शशांक कोइरालाको ‘इन्ट्री’ भइसकेको छ । कोइरालाले देउवाको नेतृत्वमा १५ औं महाधिवेशन गर्न सहमत भएमा मात्र एकता हुन सक्ने बताए । ‘आउँदो १५ औं महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुन्छ, यसलाई सफल पारौं,’ कोइरालाले भने, ‘यद्यपि पार्टी अप्ठ्यारो अवस्थामा छ, टुक्रिने सम्भावना पनि देखिरहेको छु ।’
संस्थापन पक्षले आगामी १६–१९ मा १५ औं महाधिवेशन गर्ने प्रक्रिया सुरु गरिसकेको छ । देउवा पक्षले भने १५ असोजमा वडा अधिवेशन सुरु गरेर २१–२३ मा केन्द्रीय महाधिवेशन गर्ने तालिका ल्याएको छ ।–कान्तिपुर




