काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको हितका विषयहरू प्रभावकारी रुपमा उठाउन सरकारलाई आग्रह गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘द ग्रीन टेबल’को १८औँ श्रृङ्खला ‘हिमचुलीको हलचलः भोटेकोशीको चेतावनी र विश्वको साझा जिम्मेवारी’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले सिंगो देशको प्रतिनिधित्व हुने गरी सबै नेपालीको भावनाको प्रतिनिधित्व गर्न सुझाव दिएका हुन्।



उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई महासभामा भाग लिएको यो नै पहिलो पटक हो भन्ने गरी आत्तिनुपर्ने आवश्यकता नरहेको बताए। उनले विगतका सरकारको विरासत बोकेर र आउने सरकारको अगुवा बनेर महासभामा निर्धक्कका साथ आफ्ना भनाइहरू राख्न सुझाव दिए।
जलवायु परिवर्नतको असरका क्षेत्रमा अध्ययन गर्नेहरू धेरै रहेकाले उनीहरूको सुझाव लिएर प्रमाणसहित महासभामा प्रस्तुत हुन उनले आग्रह गरे। महासभामा नेपालले केका लागि आवाज उठाउने र केका लागि लड्ने भन्ने विषय स्पष्ट राख्नुपर्ने उनको भनाइ छ।
‘महासभामा हामीले हाम्रो आफ्नो लागि लड्ने के हो? विपद्को प्रभाव जुन ठाउँमा परेको छ, त्यस ठाउँमा तुरुन्तै बस्तीहरू बसाउने कि नबसाउने? भन्ने विषयदेखि लिएर हाम्रो संस्थालाई कसरी बलियो बनाउने भन्ने छ। जलवायु परिवर्तनको मुद्दा केन्द्रमा राख्नुपर्छ। अनुमानका आधारमा नभई प्रमाणका आधारमा राख्नुपर्छ।’




