काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले नियमानुसार नै आयोगले तयारी गरिरहेको बताए।
उनका अनुसार स्थानीय तहका हालका जनप्रतिनिधिको कार्यकाल २ महिना बाँकी रहेकै अवस्थामा निर्वाचन गर्नुपर्ने प्रावधान छ।



‘नियम संगतले फागुनमा निर्वाचन गर्नुपर्छ। आयोगले आफ्नो काम सबै गरिरहेको छ। सरकारलाई भन्नमात्रै बाँकी छ,’ उनले भने, ‘अहिले मतदाता नामावली अध्यावधिकको काम भइरहेको छ। वर्षमा दुई पटक अध्यावधिक हुन्छ।’
उनले फागुनमा निर्वाचन हुने अवस्था आए माघमा पुन: अध्यावधिक गरी मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ।
के छ कानुनी व्यवस्था ?
स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद २ को १ अनुसार गाउँ सभा वा नगरसभाको कार्यकाल सकिनुभन्दा २ महिनाअघि गर्नुपर्ने उल्लेख छ।
जसमा भनिएको छ, ‘सदस्यको निर्वाचन गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुनेछ।’
यसअघि २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन भएको थियो। ऐनअनुसार फागुन अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन गराउनुपर्ने हुन्छ। संविधानअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुनेछ।




