सुजाता राई
संविधान दिवस २०८३ को अवसरमा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा आर्थिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र समन्वयमा विजेता खेलाडीलाई पुरस्कार वितरण तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।



विराटनगरस्थित सहिद रंगशालाबाट आयोजित प्रभातफेरीमा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सहभागीले आ–आफ्नो भेषभूषा र सांस्कृतिक पहिचान प्रस्तुत गरेका थिए। सहभागीले विभिन्न कला, संस्कृति, खेल तथा सांगीतिक प्रस्तुति प्रदर्शन गरेका थिए।

संविधान दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजयी खेलाडीलाई नगदसहित पुरस्कार वितरण गरिएको थियो। विजेता खेलाडीलाई कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मत कार्कीले पुरस्कार वितरण गरे।

प्रभातफेरीमा खेलकुदकर्मी तथा खेलाडीको नेतृत्व कोशी प्रदेश खेलकुद विकास बोर्डले गरेको थियो। बोर्डका सदस्य–सचिव विप्लव घोषलगायतको नेतृत्वमा खेलाडी, विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकधारी खेलाडी तथा खेलकर्मीको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रभातफेरीमा सहभागी विभिन्न संघसंस्थाले आफ्नो क्षमता र कलाअनुसार खेल, नृत्य तथा सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। विविध कला तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रम थप आकर्षक बन्यो ।




