जनकपुरधाम । जनकपुरधाममा प्रस्तावित रामजानकी रंगशाला निर्माणको काम चालु आर्थिक वर्षदेखि अघि बढाउने गरी बहुवर्षीय बजेट सुनिश्चित गर्ने निर्णय भएको छ । रंगशाला निर्माणका लागि प्रत्येक वर्ष २५ करोड रुपियाँका दरले बजेट विनियोजन गर्ने तयारी गरिएको हो ।
धनुषा–३ का प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधामको विकास र युवाको आवश्यकता सम्बोधन गर्ने उद्देश्यले अघि सारिएको रंगशाला निर्माण अब कार्यान्वयनको चरणमा प्रवेश गरेको बताउनुभयो ।



उहाँका अनुसार रंगशाला निर्माणका लागि बहुवर्षीय बजेट सुनिश्चित हुनु महत्वपूर्ण उपलब्धि हो । “यसै आर्थिक वर्षबाट रामजानकी रंगशाला निर्माण गर्ने निर्णय भएको छ । प्रत्येक वर्ष २५ करोड रुपियाँका दरले लगानी हुनेछ,” उहाँले भन्नुभयो ।
रंगशाला निर्माणसँगै जनकपुरधाममा अतिक्रमणमा परेको सार्वजनिक जग्गा संरक्षण गर्ने कामसमेत अघि बढाइएको सांसद झाले बताउनुभयो । सार्वजनिक सम्पत्तिको संरक्षणसँगै धार्मिक तथा सांस्कृतिक महत्वका क्षेत्रको संरक्षणलाई पनि प्राथमिकतामा राखिएको उहाँको भनाइ छ ।
जनकपुरधामका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने प्रक्रिया अघि बढाइएको झाले जानकारी दिनुभयो । जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहलसमेत अघि बढाइएको उहाँले बताउनुभयो ।
जनकपुरधामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले सम्पदा संरक्षणका कामलाई प्राथमिकतामा राखिएको सांसद झाले उल्लेख गर्नुभयो ।
उहाँले रामजानकी रंगशाला निर्माण, सार्वजनिक जग्गा संरक्षण तथा ऐतिहासिक सम्पदाको संरक्षणलाई जनकपुरधामको समग्र विकाससँग जोडेर अघि बढाउन खोजिएको बताउनुभयो ।
बहुवर्षीय बजेटको सुनिश्चिततासँगै रंगशाला निर्माणको भौतिक प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ । रंगशाला निर्माण भएपछि जनकपुरधाम तथा आसपासका जिल्लाका खेलाडीलाई खेल अभ्यास र प्रतियोगिता सञ्चालनका लागि पूर्वाधार उपलब्ध हुने अपेक्षा गरिएको छ ।




