महोत्तरी – थमन विक हत्या मुद्दामा निलम्बनमा रहेका मधेस प्रदेशसभा सदस्य अभिराम शर्माले आफ्नो निलम्बन फुकुवा गर्न माग गर्दै मधेस प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराउनुभएको छ।
महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) बाट निर्वाचित सांसद शर्माले आफूविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदनको क्रममा रहेको र सर्वोच्च अदालतले आफूलाई साधारण तारिखमा राख्ने आदेश दिएको आधार प्रस्तुत गर्दै निलम्बन फुकुवाको प्रक्रिया अघि बढाउन निवेदन दिनुभएको हो।



मधेस प्रदेशसभा सञ्चालन नियमावलीमा रहेको व्यवस्थाअनुसार शर्माले निलम्बन फुकुवाका लागि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराउनुभएको जनाइएको छ।शर्माले आफूले मधेस आन्दोलनको राजनीतिक नेतृत्व गरेकै कारण झुटा मुद्दामा फसाइएको दाबी गर्दै आउनुभएको छ। लामो समयदेखि कानुनी लडाइँमा रहनुभएका शर्माले आफू अदालतको प्रक्रियाबाट नभागेको र अन्ततः सत्य स्थापित हुने विश्वास व्यक्त गर्दै आउनुभएको छ।
महोत्तरी–३(क) बाट निर्वाचित शर्मा यस क्षेत्रबाट दुई पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो। उहाँ यसअघि मधेस प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ। उहाँ लोसपा नेपालका दलका नेतासमेत रहनुभएको थियो।
शर्माको निलम्बन फुकुवासम्बन्धी निवेदनमाथि प्रदेशसभा सचिवालयले प्रचलित कानुनी तथा नियमावलीगत व्यवस्थाका आधारमा आवश्यक प्रक्रिया अघि बढाउने जनाइएको छ।





