जनकपुरधाम । कर्तव्य ज्यान मुद्दामा निलम्बनमा रहेका मधेश प्रदेशसभा सदस्य अभिराम शर्माको निलम्बन फुकुवा भएको छ ।
मधेश प्रदेशसभा सचिवालयले सोमबार सूचना जारी गर्दै शर्माको निलम्बन फुकुवा गरिएको जनाएको हो ।



प्रदेशसभा सचिवालयका सचिव बासुप्रसाद कोइरालाद्वारा जारी सूचनाअनुसार, २०८३ साल असोज २६ गतेदेखि लागू हुने गरी सभामुख रामअशिष यादवले शर्माको निलम्बन फुकुवा गरेका छन् ।
नेपाल सरकार वादी र अभिराम शर्मासमेत प्रतिवादी रहेको कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले शर्मालाई २०८३ साल मंसिर २३ गतेको साधारण तारेख दिएको सूचनामा उल्लेख छ ।
सर्वोच्च अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ को उपदफा (२) बमोजिम प्राप्त सुविधाका आधारमा शर्माले पुनरावेदन पत्र दर्ता गराएका थिए ।
सोही पुनरावेदनका क्रममा सर्वोच्च अदालतबाट साधारण तारेख तोकिएको विषयलाई आधार मानी मधेश प्रदेशसभा नियमावली, २०८२ को नियम २१९ को उपनियम (५) बमोजिम शर्माको निलम्बन फुकुवा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशसभा सचिवालयले सोमबार जारी गरेको सूचनामार्फत निलम्बन फुकुवाबारे जानकारी गराएको हो ।





