संजीतकुमार मण्डल
महोत्तरी । मधेश प्रदेशका समामुख रामअशिष यादवले जुन समाजमा छोरीको सम्मान छैन, त्यो समाज दरिद्र रहेको बताउनुभएको छ ।
महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर ५ लाई आज बालविवाह मुक्त वडा घोषणा कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै सभामुख यादवले जुन समाज, जुन प्रदेश र जुन देशमा छोरीलाई सम्मान गरिँदैन, त्यो समाज, त्यो प्रदेश र त्यो देश कहिले पनि विकास गर्न नसक्ने बताउनुभएको थियो ।
उहाँले अहिले हाम्रो समाजमा छोरा र छोरीबीच ठूलो विभेद भइरहेको र छोरालाई प्राथमिकता दिने प्रचलन बढ्दै गएको अवस्थामा छोरी कसैलाई नचाहिने तथा बुहारी सबैलाई चाहिने अवस्थामा छोरीलाई सम्मान र समान अवसर दिनुको विकल्प नरहेको बताउनुभयो ।




उहाँले त्यसैले मधेश प्रदेश सरकारले छोरीको सम्मान र समानतालाई ध्यानमा राख्दै मधेश प्रदेश सरकारको लोकसेवामा छोरा र छोरी दुवैलाई ५० प्रतिशतको अवसर प्रदान गरिएको बताउनुभयो । मधेश प्रदेश सरकारले गरेको यो व्यवस्था संघीय सरकारले समेत नगरेको समामुख यादवले बताउनुभयो ।
त्यसैले छोरा र छोरीमा विभेद नगरेर दुवैलाई समान अवसर र सम्मान प्रदान गर्न सबैलाई आग्रह गर्नुभयो ।
सेभ द चिल्ड्रको सहयोगमा रतौली युवा क्लवले आयोजना गरेको पिपरा गाउँपालिका वडा नम्बर ५ लाई बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, रतौली युवा क्लवका कार्यकारी निर्देशक वैद्यनाथ चौधरी लगायतका वक्ताहरुले बालविवाह मुक्त अभियानले यस वडाका साथै समग्र पालिकाको बालबालिकाहरुले स्वास्थ्य, शिक्षा र समग्र विकासमा ठूलो टेवा पुगेको बताउनुभयो ।
वडा नम्बर ५ मा जम्मा ८०६ घरधुरीमा ६ हजार ८५५ जनसंख्या रहेकोमा १ हजार ५०५ बालक र १ हजार ३४९ बालिका रहेका छन् । यस वडामा विद्यालय जाने उमेरका सत प्रतिशत बालबालिकाहरु विद्यालय जाने गरेका छन् भने विगत तीन वर्षको अवधीमा बालविवाहलाई न्युनिकरण गर्दै आज बालविवाह मुक्त वडा घोषणा गर्न सफल भएको हो ।




