मो. इसराफिल राइन,महोत्तरी – महोत्तरीको मटिहानीमा बडादसैँको महासप्तमीका अवसरमा आजदेखि विधिवत् रूपमा दुर्गा भवानीको पूजा आरम्भ भएको छ । यहाँ विगत ५४ वर्षदेखि निरन्तर दुर्गा पूजा हुँदै आएको छ ।
मटिहानीस्थित दुर्गा मन्दिर परिसरमा यस वर्ष पनि माटोबाट निर्मित दुर्गा भवानीसहित विभिन्न देवीदेवताका प्रतिमा स्थापना गरी पूजाआजा सुरु गरिएको हो । यहाँको मुख्य आकर्षण करिब २१ फिट लामो माटोबाट निर्मित दुर्गा भवानीको प्रतिमा रहेको छ । प्रतिमाको दर्शन तथा पूजाआजा गर्न स्थानीयसहित विभिन्न जिल्लाबाट आएका श्रद्धालु भक्तजनको भीड लागेको छ ।



दुर्गा पूजा विशेष कार्यक्रमका लागि करिब एक महिनादेखि प्रतिमा निर्माणलगायतका तयारी गरिएको थियो । पूजाअवधिभर नित्य पूजा, देवीभागवत पाठ, दुर्गा स्तुति, सांस्कृतिक कार्यक्रम तथा सामूहिक भजनकीर्तन सञ्चालन गरिने आयोजकले जनाएको छ ।
पूजाका क्रममा मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानीमा ५४ वर्षदेखि दुर्गा पूजा हुँदै आएको बताउनुभयो । उहाँका अनुसार सुरुमा सामान्य रूपमा थालिएको पूजा अहिले भव्य स्वरूपमा विस्तार भएको छ । यसले स्थानीयको धार्मिक आस्था, परम्परा र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएको उहाँले उल्लेख गर्नुभयो ।
दसैँका अवसरमा दुर्गा मन्दिर परिसरमा पूजाआजासँगै मेला पनि लाग्ने भएकाले स्थानीय व्यापारी, युवायुवती तथा बालबालिकाको चहलपहल बढ्ने अपेक्षा गरिएको छ । धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको मटिहानीको दुर्गा पूजा यहाँको प्रमुख आकर्षणका रूपमा रहँदै आएको छ ।


















