काठमाडौं । काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन लागू हुने भएको छ । काठमाडौं उपत्यकाका तीनै वटा प्रशासन कार्यालयले सूचना जारी गरेर मंगलवार रातिबाट लागू हुनेगरी नयाँ आदेश जारी गरेको छ ।
मंगलबार बसेको बैठकले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारका लागि थप प्रभावकारी बनाउन संयुक्त आदेश जारी गरेको हो । १८ वटा बुँदामा जारी गरिएको आदेश मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।



आदेश अनुसार घर बाहिर वा सार्वजनिक स्थलमा निस्कँदा सबैले अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको छ ।
राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक तथा अन्य गतिविधि सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न भनिएको छ । सार्वजनिक ठाउँमा राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक कार्यक्रम नगर्न पनि भनिएको छ ।
अत्यावश्यक कार्यक्रमको हकमा प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन सकिने प्रशासनले भनेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीले गरेको सिफारिस अनुसार सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुनेगरी मेला कार्यक्रम नगर्नसमेत भनिएको छ ।
माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्यसमेत गरिएको छ । तर मोबाइलमा फोटोमात्रै भए पनि हुने प्रशासनले भनेको छ ।




