धनुषा- धनुषामा एक लुटेरा समूहले प्रहरीमाथि नै आक्रमण गरेको छ । आक्रमणबाट असई मनोज पोखरेल घाइते भएका छन् ।
धनुषाको बटेश्वर गाउँपालिका स्थित प्रहरीचौकीमा कार्यरत असई मनोज पोखरेलमाथि गएराति लुटेरा समूहले आक्रमण गर्दा उनि घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनको टाउकोमा १२ वटा टाका लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



वटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित राम्रो चोकमा गएराति लुटेरालाई नियन्त्रण लिएपछि उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।
महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ का अमित पासमान भारतको मद्रासबाट कमाएर फर्किदै गर्दा लुटेरा समूहले उनीसँग भएका पैसा, लत्ताकपडा, मोबाइल सहितका सामान लुटपाट गरेका थिए ।
लुटपाट घटना लगतै पुगेका असई पोखरेल सहितको प्रहरी टोली घटनास्थलमा पुगेर लुटेरा समूहलाई पक्राउ गरेपछि उनीमाथि आक्रमण भएको हो ।
लुटपाट तथा प्रहरीमाथि आक्रमण गर्ने पाँचजनालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मनाेज बस्नेतले बताए ।
जसमध्ये मुख्य आरोपी स्थानीय रामजिवन ठाकुरको साथबाट लागुऔषध नाइटरोभेट ट्याब्लेट र चक्कु बरामद भएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




