जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले समाज रुपान्तरणको अभियान मार्फत् महत्वपूर्ण काम गरिरहेको बताएका छन् ।
मंगलबार प्रदेश सरकार स्थापना भएको चार वर्षको अवसरमा उपलब्धि सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाजमा रहेका विकृति, बिसंगतिलाई अन्त्य गर्नका लागि सामाजिक रुपान्तरणको अभियान सञ्चालन गरिरहेको बताए ।
यस्तै मधेस प्रदेश सरकार सम्हालेको पहिलो वर्षमै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सफल भ्रमण गराएको कार्यक्रमलाई उपलब्धिको रुपमा प्रस्तुत गरेका छन् । मुख्यमन्त्री राउतले विभिन्न मन्त्रालयमार्फत् ल्याइएका नीति, कार्यक्रम र योजनालाई सरकारले क्रमशः कार्यान्वयन गर्दै लगेको बताए । मधेस प्रदेशका जनताको चाहना र आकांक्षालाई सम्बोधन गर्न सरकारले निरन्तर प्रयास गर्दैआएको उनले बताएका थिए ।
विशेषगरी समाजमा पछि पारिएका महिला, दलितलगायत उत्पीडितहरूलाई मूल प्रवाहमा ल्याउन प्रदेश सरकारले काम गरेको बताए । यस अवधिसम्म ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान, छोरी शिक्षा बिमाको कार्यक्रम, साइकल वितरण तथा लोकसेवा कक्षा सञ्चालन लगायत महत्वपूर्ण काम गरिएको उनले बताए ।

मुख्यमन्त्री राउतले भने, ‘समाजका रुपान्तरण गर्ने किसिमका अभियान पनि सञ्चालन गरेका यहाँहरू देख्नुहुनेछ । निश्चित रुपमा समाजमा रहेका कुरीति, आर्थिक, समाजमा रहेका विभिन्न किसिमका विकृतिलाई जबसम्म महिलालाई सशक्त बनाइँदैन, दलितलाई मूलधारमा ल्याइँदैन, उत्पीडनमा रहेका समुदायलाई जबसम्म अगाडि ल्याउँदैनौं । तबसम्म निश्चित रुपमा यो समाज रुपान्तरण गर्न सकिँदैन ।’
‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान साथै छोरी शिक्षा बिमाका कार्यक्रम बीचमा स्थगित गर्नु परेको भए पनि अहिले फेरि ती अभियान सञ्चालन गर्ने क्रममा रहेको उनले बताए । यस्तै आफूहरूले साइकल वितरण र लोकसेवाका कक्षा पनि सञ्चालन गरेको उनले बताए ।
चार वर्षमा मधेश सरकारले आठ वटै जिल्लाका विभिन्न स्थानहरुमा ६० वटा बर्थिङ सेन्टर, ७६ वटा सामुदायिक भवन, १८ वटा धर्मशाला, ३ वटा योग भवन, २ शिशु सदन, २० खेल मैदान, ५ छात्रावास, २२ विद्यालय भवन, ३ वृद्धाश्रम, ९ रंगशाला, ३ कभर्ड हल, २ अस्पताल, २ पुस्तकालय, ७ मदरसा, ३ मस्जिद, १ वालगृह, २ शौचालय निर्माण गरेको र ३१ वटा विद्यालय भवन र २ बृध्दाश्रम भवनको मर्मत संभार तथा स्तरोन्नति गरेको जनाएको छ ।

चार वर्षमा करिब २२५ कि.मि.माटो सडक, ९३७ कि.मि.ग्राभेल सडक, २२४ कि.मि.कालोपत्रे सडक र २३७ कि.मि.ढलान सडक निर्माण, २९२ कल्भर्ट र ३२ पुल निर्माण सम्पन्न गरेको, करिब ३५ कि.मि.नाला निर्माण र ३ झुलुङ्गे पुल, सिंचाईतर्फ ३४ हेडबक्स निर्माण, १७४ कि.मि.कच्ची नहर निर्माण, २९ कि.मि.पक्की नहर निर्माण र ७८ कि.मि.तटबन्ध निर्माण गरेको, ८ हजार ७४ हेक्टर खेतीयोग्य जग्गा संरक्षण, ५३ कि.मि.बस्ती संरक्षण र २६ कि.मि.घाट निर्माण गरेको जनाएको छ ।
त्यस्तै ९ वटा सरकारी भवन, ९७ वटा सामुदायिक भवन. २३ वटा धर्मशाला र जनता आवास कार्यक्रम अन्तर्गत ९ हजार ४५ वटा घर बनाएको प्रदेश सरकारले जनाएको छ ।
यस्तो छ मधेश सरकारको चार वर्षको उपलब्धिको पूर्णपाठ हेर्नुहोस् ।
[pdf-embedder url=”https://shirishnews.com/wp-content/uploads/2022/02/मधेश-प्रदेशको-चार-वर्षको-प्रगति-विवरण-सम्वन्धी.pdf” title=”मधेश प्रदेशको चार वर्षको प्रगति विवरण सम्वन्धी”]


