मनोज यादव, सर्लाही । सर्लाहीमा ठूलो परिमाणमा लागुऔषध गाँजा सहित ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका वडा नम्बर १३ पत्थरकोट बस्ने ३८ वर्षीय कान्छा मान थिङ, सोही ठाउँ बस्ने २१ वर्षीय सुनिल दोंङ, १९ वर्षीय विशाल थिंङ, २१ वर्षीय मिलन थिंङ,१९ वर्षीय निकेश दोंङ लालबन्दी–१४ बस्ने १९ वर्षीय राज बम्जन रहेका छन्।



उनीहरूलाई(आज) मंगलबार बिहान ४ बजेको समयमा विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरिक्षक शान्ताराम कार्कीको कमान्डमा खटिएको टोलीले लालबन्दी नपा–१३ पत्थरकोट स्थित कान्छा मान थिंङको घरमा खानतलासी गर्दा निजको घरबाट प्लास्टिकको बोरा तथा प्लास्टिकले बेरिएको अवस्थामा ४६ वटा पोकामा लुकाएर राखिएको २ सय ३७ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिएको छ।
बरामद भएको सो परिमाणको लागुऔषध गाँजा र गाँजा ओसारपसारमा प्रयोग भएको २ वटा मोटरसाइकल सहित उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला अदालत सर्लाही मलंगवाबाट लागुऔषध ऐन अन्तर्गत म्याद थप गराई अनुसंधान प्रक्रिया अगाडी बढाइसकेको डिएसपी बुढाथोकीले जनाएको छ ।




