जनकपुरधाम- माछा उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि धनुषा सहित मधेस प्रदेशका अन्य जिल्लाहरुमा व्यवसायिक रुपमै माछापालन तर्फ किसानहरुको संख्या थपिदै गएको छ ।
जाडो महिनामा माछाको उपभोग संख्या सहित माँग समेत बढ्नुको साथै राम्रो आम्दानी हुने भएकोले यस क्षेत्रका किसानहरु व्यवसायिक रुपमै माछापालन तर्फ झन आकर्षित हुन थालेका हुन् ।




बजारका लागि पनि उत्पादित माछा पोखरीकै डिलसम्म व्यापारीहरु पुग्न थालेपछि माछा व्यवसायिहरु थपिन थालेको माछाकिसानहरु बताउँछन् ।
माछापालनका लागि आवश्यक पूर्वाधारसँगै पानीको श्रोत सुहाउँदो माटो, न्यानो हावापानी तथा वर्षमा ३ पटकसम्म विक्री गर्न सजिलो भएको हुनाले अन्य कृषि व्यवसायभन्दा माछापालन व्यवसाय आम्दानीको मुख्य श्रोत बन्दै गएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका माछा किसान रामकेवल मुखियाले बताए ।
माँग अनुसार माछाको आपूर्ति गर्न धौ—धौ परेको छ । माछा उत्पादनको लागि आवश्यक दानाको भाउ दिन प्रति दिन बढ्दै गएको छ । साथै आवश्यकता अनुसार नेपालमा नभै भारतबाट थप महंगो मूल्य तिरी दाना खरीद गर्नु परेको हुनाले माछाको मूल्य बढाउनु पर्ने व्यापारी क्षीरेश्वरनाथ २ का माछा किसान देबु यादवको भनाइ छ । धनुषामा सिलवर, विग्रेड, कमन, रोहु, नैनी, गरास, भाकुरा जातका माछाहरु उत्पादन गर्दै आएको यादव बताउँछन् ।
नेपाल सरकारले धनुषा जिल्लालाई माछाको पकेट क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोजना अन्तर्गत सुपरजोन कार्यक्रम समेत लागू गरेको छ ।
सुपरजोन कार्यक्रम लागू भए पश्चात यस क्षेत्रका किसानहरु झन उत्साहित भई थप माछापालन तर्फ लागि परेको किसानहरुको भनाइ छ।
क्षीरेश्वरनाथ ५ कै माछा किसान रामसोभित मुखियाले माछा काठमाणडौ ,वीरगंज, पोखरा, चितवन लगायतका प्रतिष्ठित शहरमा निर्यात गर्दै आएको बताए ।
साइकलमा हन्डी(आलमुनियमको भाडो) मा राखेर माछा विक्री गर्ने रामसोभित अहिले टाटा सफारी चढ्छन्

२५ वर्षअघि उनी साइकलमा हन्डी राखेर गाउँगाउँ पुग्दै माछा बेच्थे । अहिले पिकअप भ्यानमा माछा बेचिरहेका छन् । उनी आफू भने टाटा सफारी गाडी चढ्छन् ।
पहिलोपटक २५ रुपैयाँमा माछाको भुरा किनेर ठेक्का लिएको पोखरीबाट ४ हजार १ सय रुपैयाँ कमाएपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ का रामशोभित मुखिया मजदुरबाट मालिक बनेका हुन् ।
अहिले उनका १ सय ६० वटाभन्दा बढी माछा पोखरी छन् । क्षिरेश्वरनाथको महेन्द्रनगर, दूधमती, सखुवा, मंगलपुर, सपही, पकरीया सहित धनुषा र महोत्तरीका विभिन्न स्थानमा माछापालन गरिरहेका छन् । उनले जग्गा चक्लाबन्दी गरी महेन्द्रनगरको एउटै प्लटमा ८० वटाभन्दा बढी पोखरीमा माछा पाल्दै आएका छन् ।
२०५४ सालमा स्थापना गरेको उनको काजल मत्स्य प्रजनन फार्ममा अहिले माछाका भुरा खरिद गर्न धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र सिरहासम्मका किसान आउँछन् ।

८ बिघामा १० वटा नर्सरी पोखरी मात्रै छन् । माउ माछाका लागि ४ बिघामा ४ वटा पोखरी बनाएका छन् । आफ्नै जग्गामा थप ३५ वटा पोखरीमा माछा पालिरहेका उनले बिघाको प्रतिवर्ष ७५ हजार रुपैयाँ तिर्ने गरी १० वर्षका लागि ठेक्कामा लिएको जग्गामा ८० भन्दा बढी पोखरी छन् । बाँकी पोखरी उनले ठेक्कामा लिएका हुन् ।
कुनै बेला मजदुरी गर्ने र अर्काको पोखरीमा माछा मार्ने रामशोभित माछाबाटै मालामाल भएका किसानका रूपमा यस क्षेत्रमा परिचित छन् । माछा हेरचाह र कारोबार सम्हाल्न २० जनालाई रोजगारी दिएका छन् । फुर्सदिलो समयमा आफैं पनि पोखरीमा खटिन्छन् । ‘मजदुरको भरमा मात्रै माछा सम्हाल्न सकिँदैन,’ मुखियाले भने, ‘मजदुरहरू पोखरीसँगै रहेको घरमा सुत्छन् । तर पोखरीबाट माछा चोरी भइरहन्छ । कहिलेकाहीँ पोखरीमा विषादी राख्दा ठूलो क्षति भोग्नुपरेको छ । पोखरी र माछा सम्हाल्न राति आफैं खट्छु । सबै पोखरीमा पुग्न नसके पनि समय मिलाएर पुग्ने गरेको छु ।’
उनको फार्ममा कर्मचारी तथा मजदुर बाह्रै महिना काम गर्छन् । हस्ताक्षर मात्र गर्न सक्ने मुखियाले भने, ‘लेखपढ गर्न नजान्दा पनि करोडौंको कारोबार गरेको छु । आमाबुबाले स्कुल पठाएको भए आज अर्बमा खेल्थें होला ।’ मुखियाको फार्ममा उत्पादन हुने माछाका भुरा काठमाडौं, नुवाकोट, सोलुखुम्बु, मोरङ, बारा, पर्सा, सप्तरी, झापा, महोत्तरी लगायत क्षेत्रमा समेत पुग्ने गरेको छ ।
मुखियाको माछा खेतीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमले आर्थिक र प्राविधिक सहयोग गरेको छ ।
पोखरीको माछा चोरी हुनबाट बचाउन र विषादी राख्दा माछा मर्ने समस्या समाधान गर्न फेन्सिङ (तारजालीको घेराबार) लगाइएको परियोजना कार्यक्रम कार्यान्वयन इकाइ धनुषाका प्रमुख युगलकिशोर तिवारीले बताए । उनका अनुसार ५० प्रतिशत अनुदानमा ४० बिघा क्षेत्रफलमा रहेका पोखरीमा फेन्सिङ गरिएको छ । माछा सुपर जोन कार्यक्रमबाट मुखियालाई पोखरी खन्न समेत आर्थिक अनुदान उपलब्ध गराइएको तिवारीले बताए ।
आर्थिक वर्ष २०७७/७८ मा धनुषाका १२ स्थानीय तहमा माछा सुपर जोन कार्यक्रम अन्तर्गत ७० हेक्टरमा नयाँ पोखरी विस्तार गरिएको छ । ५२ जना किसान र २० वटा निजी फार्मलाई २ सय ६० वटा पोखरी विस्तार गर्न प्रतिहेक्टर ३ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको तिवारीले जानकारी दिए ।
धनुषामा राम सोभित जस्ता माछाका सफल व्यवसायीक किसानहरु अरु पनि छन्। सहज र सरल हुने भएकाले पनि धनुषाका किसानमा माछा उत्पादनको जाँगर बढेको हो।
माछा खेती गर्न चाहने कृषकलाई मत्स्य विकास तथा तालिम केन्द्रले सिपसँगै माछाका भुरा उपलब्ध गराउँछ। केन्द्रले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुलीका किसानलाई ८ प्रजातिका माछाका भुरा उपलब्ध गराउँदै आएको छ। कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, बिग हेड कार्प, भाकुर, रउ, नइनी र तिलापिया प्रजातिका भुरा केन्द्रले किसानलाई उपलब्ध गराउँछ।
धनुषामा ९ सय ८३ हेक्टरमा २ हजार १ सय १ जना किसानले गत आर्थिक वर्षमा ४ हजार १ सय २६ मेट्रिक टन माछा उत्पादन गरेको कृषि ज्ञानकेन्द्र धनुषाले जनाएको छ। केन्द्रको तथ्यांक अनुसार धनुषामा पछिल्लो ३ वर्षमा बर्सेनि १ हजार मेट्रिक टन माछा उत्पादन भइरहेको छ।
कृषि तथा पशुपन्छी मन्त्रालयले धनुषा जिल्लालाई माछापालनको सुपरजोन घोषणा गरेको छ। करिब २ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा माछापालन भइरहेको धनुषामा यस वर्ष थप एक हजार हेक्टर क्षेत्रफलमा माछापालन सुरु भएको कृषि मन्त्रालयले जनाएको छ।
एकै ठाउँमा कम्तीमा १० हेक्टर जग्गामा एकै प्रकारको कृषि उत्पादन सुरु गरेर पकेट क्षेत्र, एक सय हेक्टरमा ब्लक, पाँच सय हेक्टरमा जोन तथा एक हजार हेक्टरभन्दा बढी क्षेत्रफललाई सुपरजोन घोषणा गरिन्छ। सुपरजोन घोषणा भएसँगै धनुषामा माछापालनको विशिष्टिकृत प्रणाली अवलम्बन गर्ने, उन्नत प्रविधिको प्रयोगमा बढोत्तरी ल्याउने, अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने तथा कृषि औद्योगिकीकरणलाई प्रवर्द्धन गरिने मन्त्रालयले जनाएको छ।
‘फिस किङ’ बौएलाल
माछा माछापालनबाटै वार्षिक ५० लाख आम्दानी गर्ने बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ भनेर चिनिन थालेका छन्।

कुनै बेला चरम गरिबीमा बाँचिरहेका मुखिया माछापालनबाट नेपालमै निजी क्षेत्रमा सबैभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्री गर्नेमा पर्छन्।
धनुषाको सहिदनगर नगरपालिका-४ नन्नुपट्टी गाउँका ७० वर्षीय मुखियाकै नाउँले उनको गाउँ चिनिन्छ । नन्नुपट्टीमा करिब १३ बिगाहा जग्गामा फैलिएको ‘मुखिया मत्स्य प्रजनन फार्म’ ले गाउँका बासिन्दाको पहिचान फेरेको छ।

२०२९ सालबाट माछा उत्पादन सुरु गरेका मुखियाले हालसम्म आफ्नो व्यापारमा निकै ठूलो फड्को मारेका छन्। मुखियाले निजीस्तरमा करिब ४० वटा माछा उत्पादनका माउ पोखरी र नर्सरी पोखरी निर्माण गरेका छन्। जसबाट उनले वार्षिक सात करोड मूल्य बराबरका माछाका भुरा र करिब ३ सय क्वीन्टल माउ माछा उत्पादन गरी बिक्री गर्ने गरेका छन्।
शान्त र सरल स्वभावका मुखियाको फार्मसँगै रहेको घरको आँगनमा प्रतिदिन माछा व्यापारी, माछा उत्पादन गर्न चाहने कृषक र जानकारको ठूलो जमघट हुने गर्छ। आफूसँग उत्पादनका सीप सिकेर प्रयोगमा ल्याउन खोज्नेलाई सहजरूपमा मुखिया आफ्ना अनुभव र ज्ञान बाँड्ने गर्छन्।
मुखियाको व्यापारमा उनको छोरा कन्हैया र रमेश पनि सहयोग गर्छन्। बुबाको व्यापारलाई अझ बढी फैलाउने उद्देश्यले आफूहरू अन्य पेशामा नगई यसमै लागिपरेको कान्छा छोरा रमेश बताउँछन्। यस फार्ममा उत्पादन हुने माछाका भुरा काठमाडौँ, नुवाकोट, सोलुखुम्बु, मोरङ, बारा, पर्सा, सप्तरी, झापा, महोत्तरी लगायत नेपालका अधिकांश माछापालन रहेको स्थानमा पुग्ने रमेशले बताए।
अहिले माछा व्यापारबाटै वार्षिक २५ देखि ३० लाखसम्म आम्दानी गर्न सफल मुखिया परिवारलाई यो अवस्थासम्म आइपुग्दा परिश्रम, चरम गरिबी र असिम दुःख भोगेको अनुभव पनि छ।
विगत सम्झँदै उनले भने, ‘तराईमा दलित जाति मै पर्ने जाको समुदाय वर्षौंदेखि गरिबीको चपेटामा छ । मुखिया पनि अति विपन्न परिवारमा जन्मिएका हुन् । आफू जन्मिएको दश दिनमै आमा पारो मुखिया बितेको धेरै पछि बुबा दुखरन मुखियाबाट थाहा पाएका बौएलालले बताए। उनले भने, ‘त्यतिबेला आफ्ना ठुल्दाइ किसुन मुखियाका सँगै एक धुर जग्गामा रहेको झुपडीमा बस्थ्यौँ । आफू १० वर्षको हुँदा बुबा निकै बिरामी परेको र औषधोपचार गराउने अवस्था थिएन। घरमा खानाकै धौधौ थियो भने औषधि त ठूलो समस्या भइहाल्यो।’ उपचार अभावमा बुबा बितेको सम्झँदा उनको आँखा रसायो।

उनले अति नै खराब अवस्थामा हुँदा आफ्ना नातेदारले समेत खासै सहयोग नगरेको अनुभव छ । ‘दाइले जसोतसो खोल्सामा दिनभर माछा मार्नुहुन्थ्यो र त्यो बेचेर जे-जति आउँथ्यो, त्यसैबाट गुजारा चलाउँथ्यौँ हामी’, मुखियाले पुराना दिन सम्झिदै भने।
मुखियाको अनुसार करिब १३ वर्षको उमेरमा उनले आफ्नै गाउँका धनीमानी छिमेकी ज्ञानकुमार तिवारीको घरमा कामकाज गर्न थाले। त्यहीबेला अमेरिकाबाट एक जना विदेशी गाउँमा माटो र पानी परीक्षणका लागि आएका थिए। ती विदेशीले बढी जग्गा हुने व्यक्तिको माटो परीक्षण गरी कहाँ कस्तो बाली लगाउँदा राम्रो हुन्छ भनी सुझाव दिन्थे।
उनले माछापालनबाट पनि राम्रो आम्दानी हुने बताएका थिए। विदेशीको कुरा मन परे पनि मुखियासँग भने न जग्गा थियो न पैसा नै। उनले काम गर्ने साहु तिवारीकोे तीन कट्ठा जग्गामा पोखरी थियो ।
मुखियाले त्यही पोखरीमा माछा पाल्ने प्रस्ताव राखे। तिवारी आम्दानीको आधा दिने सर्तमा सहमत भए। ‘तिनै विदेशीले औषधि र पोखरी सफा गर्न चुना उपलब्ध गराए’, मुखियाले स्मरण गरे- ‘सरकारले कृषकलाई सित्तैमा दिने माछाका भुरा ल्याएर हाले।’
सानो पोखरी उत्पादन राम्रै भयो । त्यही माछा बेचेर जीविकोपार्जन सहज हुन थाल्यो । अधियामा सुरु गरेको माछापालनमा नयाँ मोड आयो जब तत्कालीन प्रधानपञ्चले आफ्नो घर नजिकको पोखरी ठेक्कामा दिने प्रस्ताव राखे । तिवारीजीको सल्लाहमा मुखियाले त्यो पोखरी ठेक्कामा लिनुभयो । लगानी गर्ने पैसा नभएकाले रु एघार सय पैचो पनि उनै तिवारीले दिएका थिए । त्यो पैसाको भुरा किनेर पोखरीमा हाल्ने तरखर गरिराख्दा रातिपख ती भुरा मरे । झन ठूलो समस्या आइपर्यो । बाध्य भएर पाँच प्रतिशतका दरले ५ सय ऋण लिए र ४०० साथीको बुबासँग सापट लिए।
त्यही ९ सय बाट सरु भएको माछा व्यवसाय नै आज उनेको परिचय भएको छ। ‘अर्को वर्ष जब पोखरीमा माछा मार्यौ, त्यसबाट ठूलो उपलब्धि भयो र जिन्दगी नै फेरियो’, मुखियाले भने, ‘त्यतिबेला प्रतिकलिो आठमा बिक्री हुने माछाबाट ११ हजार आम्दानी गरें। त्यही पैसाबाट ११ कट्ठा खेत किनेर धानखेती गरेको र थप तीन कट्ठा खेत किनेर त्यसमा माछापालनको काम सुरु गरे,’ उनले भने।
आफ्नो मिहनेत र परिश्रममा सदैव साथ दिएकी श्रीमती बुधनीदेवी मुखिया र छोराको हौसलाले नै अहिलेसम्म ऊर्जा दिने गरेको मुखिया बताउछन्। सानैमा बुबाआमा बितेकाले धेरै पढ्न नपाए पनि गाउँकै विद्यालयमा कक्षा आठसम्म अध्ययन गरेका मुखिया लामो अनुभवका कारण हाल माछासम्बन्धी बिमारी, रोग वा समस्याको निदान गर्नसमेत सक्छन् । ‘म चिकित्सक त होइन तर अनुभवका कारण माछाका समस्या सजिलै बुझेर समाधान गर्न सक्छु’, मुखियाको आत्मविश्वास छ ।
सम्भावना देखेको ठाउँमा पसिना चुहाए। कुनै बेला एक कट्ठा घरघडेरीमा सीमित उनले १४ बिघा जग्गा खरिद गरे। उनीभन्दा पहिला त्यस क्षेत्रमा कसैले पनि व्यावसायिक माछाखेती गरेकै थिएन। अहिले उनकै सहयोगमा दर्जनौँ किसान व्यावसायिक माछा खेतीमा लागिपरेका छन्।
मुखियाको मिहिनेतलाई राज्यले पनि बेलाबखत सम्बोधन गरेको उनी बताउछन्। २०४६ सालमा उनलाई सरकारले माछा उत्पादन तालिमका लागि एक महिना बंगलादेश पठाएको थियो। त्यस्तै उनको परिश्रम र माछा उत्पादन क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै २०५६ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको हातबाट गोरखा दक्षिणबाहु पुरस्कारबाट सम्मानित गरिएको थियो। यसका साथै उनले देश-विदेशमा सयौँ सम्मान र पुरस्कार प्राप्त गरिसकेका छन्। माछा उत्पादनमा देशभरमै उत्कृष्ट ठहरिएका उनी राष्ट्रपति कृषक पुरस्कार २०७५ बाट समेत पुरस्कृत भएका छन्।
२०५६ मा भएको स्थानीय निकायको निर्वाचनमा बौएलाल गाविस अध्यक्षमा समेत निर्वाचित भएका थिए।
उनले भने, ‘मैले जुन गरिबी र समस्यामा आफ्नो बाल्यकाल बिताए त्यस्तो अवस्था अब आफ्नो परिवारमा कहिल्यै नआओस् त्यसका लागि केही गरेको छु जस्तो लाग्छ ।
उमेरले पहिले जस्तो सक्रिय नभए पनि छोराहरुले कारोबार सम्हालेका छन्। जेठो छोरा कन्हैया मुखिया अहिले धनुषा मत्स्य व्यवसायी संघका अध्यक्ष पनि छन्।
‘वैदेशिक रोजगार क्यान्सिल गरेर माछा खेती गर्दा एक सिजनमा १० लाख कमाई’
क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका युवा मत्स्य व्यवसायी रामकेवल मुखिया पनि निकै सफल छन्। मनकामना माछापालन केन्द्र सञ्चालन गरेर उनले धनुषा र महोत्तरीमा एक सयभन्दा बढी पोखरीमा माछा पालन गर्ने गर्छन्।

उनका अनुसार माछापालनमा पनि हिजोआज आधुनिकीकरण बन्दै गएको छ। ‘पहिलापहिला भिनाजुले एक सिजनमा दाना नखुवाई १ लाख रुपैयाँ नाफा गर्ने गरेका थिए,’ उनी भन्छन्, ‘अहिले म १ लाखको दाना खुवाएर माछा र हाँस पालनबाटै एक सिजनमा ८ देखि १० लाख रुपैयाँ नाफा गर्न सफल छु।’ रामकेवलले माछापालनसँगै व्यावसायिक हाँसपालले आफ्नो जीवनमा धेरै परिवर्तन ल्याएको बताए।
रामकेवलले आफ्ना पुराना दिन सुनाउँदै भने, ‘त्यतिखेर हाम्रो गाउँमा एसएलसी दिनेबित्तिकै विदेश जाने लहर थियो, भिनाजुको मत्स्य फर्ममा नबसेको भए म पनि साथीभाइ जस्तै वैदेशिक रोजगारमा हुन्थेँ,’ उनी भन्छन्, ‘त्यतिखेर विदेश गएका साथीहरुको भन्दा म आर्थिक रुपमा निकै माथि छु।’
रामसुदिसको आर्थिक छलाङ
१२ वर्ष अघिसम्म ठूलोदाजु रामविशेष शरणलाई माछाको ठेक्कामा सहयोग गर्ने महोत्तरी, सिस्वाकटैयाका रामसुदिस शरण पनि अहिले महोत्तरीको ठूलो माछा किसान बनेका छन्।

कक्षा १० मा पढ्दै गर्दा दाजुलाई सघाउन माछा सम्बन्धी काममा लागेका उनले हरेक वर्ष कम्तीमा १४ लाख रुपैयाँ नाफा कमाउने गरेको बताउँछन्।
‘दाजुले ऋण काढेर ८ सय रुपैयाँमा ठेक्का लिएको पोखरीमा ४ सय रुपैयाँको माछा हालेर १० हजार फाइदा कमाए,’ त्यसबाट प्रभावित बनेका उनी भन्छन्, ‘माछा नै पैसा कमाउने उत्तम माध्यम हो भन्ने लाग्यो र म पनि त्यतैतिर लागेँ।’
बिहान ६ बजेदेखि रातिसम्म माछाको स्याहार र व्यापारमै उनी व्यस्त हुन्छन्। यसबाट सफल बनेका उनीसँग आधा दर्जनभन्दा बढी मोटरसाइकल र एउटा पिकअप भ्यान छ। २ वटा कार किनेका छन्।

अचेल रामसुदिसलाई जिल्लामा माछापालन सम्बन्धी तालिम दिन प्रशिक्षकको रुपमा समेत निम्त्याउने गरिएको छ।
कुनै बेला ८ सय रुपैयाँ ऋण लिनुपर्ने सुदिससँग अहिले सुदिस माछा पालन केन्द्र नामक कृषि कम्पनी छ। निजी र भाडामा लिएका एक सय पोखरी छन्। उनको कृषि कम्पनीमा ४० जनाभन्दा बढी मजदुर नियमित काम गर्छन् भने अरुले पनि अप्रत्यक्ष रोजगारी पाएका छन्।
‘म आज जे छु माछाकै कारण छु,’ उनी भन्छन्, ‘म सक्रिय हुन्जेलसम्म माछापालन नै गर्छु।’
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको रणनीतिक योजना अनुसार २०८०/८१ सम्ममा नेपालमा १३५ हजार मेट्रिक टन माछा उत्पादन लक्ष्य रहेको छ। तर अहिले पनि माछा आयात गर्नुपरिरहेको छ।
पशु सेवाविज्ञ केन्द्र धनुषाले माछाको उत्पादनमा वृद्धि भए पनि नेपालको उत्पादनले अझ बजार धान्न नसकेको जानकारी दिए ।
विश्वका विकसित मुलुकले वार्षिक प्रतिव्यक्ति २८ किलो माछा खाने गरे पनि नेपालमा उत्पादित माछाले वार्षिक ३ दशमलव शून्य १ किलोग्राम मात्र उपलब्ध हुने गरेको केन्द्रले जनाएको छ । अल्पविकसित मुलुकमा भने प्रतिव्यक्ति वार्षिक ११ किलोग्राम माछा प्रयोग हुँदै आएको छ ।
नेपाललाई सन् २०३१ सम्म माछाको प्रयोगका लागि अल्पविकसित मुलुकको दाँजोमा पुर्याउन माछापालनसम्बन्धी विभिन्न कार्यक्रम ल्याउन लागेको छ । प्रदेश तथा संघले विभिन्न स्थानीय तहलाई माछा जोनको रुपमा घोषणा गरि व्यवसायी माछापालनका लागि प्रोत्साहन गर्दैं आएको छ ।

नेपालका विभिन्न नदीनाला तथा तालतलैयामा हाल २३२ प्रजातिका माछा पाइन्छन् । तीमध्ये ११ प्रजातिका माछालाई व्यावसायिक रूपमा पालन गरिएको छ । कमनकार्प, विगहेडकार्प, सिल्भरकार्प, ग्रासकार्प, रहुकार्प, नैनीकार्प, भाकुरकार्प, टिलापिया, मांगुर, पंगास, जल कपुर, असला र ट्राउटलाई व्यावसायिक रूपमा पालन गरिएको केन्द्रले जनाएको छ ।

माछाको उत्पादनलाई बढाउन देशभर केन्द्र सहित १३ वटा सरकारी फार्म संलग्न रहेका छन् । माछाको विकास र विस्तारका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत नौवटा अनुसन्धान केन्द्र स्थापना गरी माछाको अध्ययन तथा अनुसन्धान भइरहेको केन्द्रले जनाएको छ ।




