जनकपुर , जानकी मन्दिर भ्रष्टाचारीको अखडा बनेको मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले आरोप लगाएका छन् ।
मन्दिरमा मंगलबार विहान पत्रकार सम्मेलनको आयोजना गर्दै महन्थ दासले राजनीतिक दलहरुले मन्दिरलाई भ्रष्टाचारको अखडा बनाएको बताएका छन् । मधेश सरकारले मन्दिरमा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत गरेको काममा भ्रष्टाचार भएको उनले जिकिर गरेका छन् । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिरको प्राङ्गणमा लगाइएको टाइल्स एक बर्ष नहुँदै फुटन थालेको जानकारी दिँदै महन्थ दासले डेढ सय बर्ष पहिला लगाइएको टाइल्स फुटाएन तर, सरकारले लगाएको टाइल्स फुट्न लागेको बताए ।
‘अहिले नै सबै तिरको टाइलस टुक्रा टुक्रा भइसकेको छ । सबै राम्रो समान हटाएर नराम्रो लगाइदिएको छ,’उनले भने–‘सबभन्दा बढी भ्रष्टाचार जानकी मन्दिरमा आएर गर्छन् । ठेकेदार, नेता र काम गर्ने मान्छेहरु ।’ मन्दिरमा सरकारका निकायहरु विना छलफल मनमौजी काम गर्ने गरेको उनको गुनासो छ । उनले निर्माणको क्रममा यस्ता गुणस्तरहीन कामलाई रोक्ने प्रयास गरेपनि कसैले नटेरेको बताए । मन्दिरमा सजाउन लगाइएको विद्युतीकरणमा पनि अनियमितता भएको उनले उल्लेख गरे ।
मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयवाट सिधै वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को माध्ययमवाट ११ करोडको लागतमा गरिएको विद्युतीकरणले मन्दिरलाई वर्वाद पार्न तिर लागिएको उनको आरोप थियो । उनले मन्दिरको चारै तिर ड्रिल गरी गरिएको विद्युतीकरणले सुर्खी चुनाले बनेको मन्दिरलाई धरासायी बनाउने प्रपंच रचिएको उनले बताए । उनले भने–‘सुर्खीचुनाले बनेको पर्खालमा ड्रिल जहाँ जहाँ गरिएको छ, त्यहाँवाट पर्खालहरु झर्ने काम अव शुरु हुन्छ र यो मन्दिर प्रतिको षडयन्त्र रहेको छ ।
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल थालिएको छ त्यो सकारात्मक रहेको बताउँदै महन्थ दासले मन्दिरको परम्परालाई यथावत राखिए मञ्जुर हुने नभए मञ्जुर नहुने बताएका थिए । मन्दिरको आम्दानीको स्रोत भनेको विवाहमण्डप, म्युजियम र भेटी रहेको बताउँदै महन्थ दासले मन्दिरको आम्दानीको स्रोतलाई विकास निर्माणको नाममा तहसनहस गरेको समेत आरोप लगाएका थिए । उनले तेलहा मरहा पोखरीको संरक्षण र सौन्दर्यीकरण गर्न भनिएको छ तर पूर्व पट्टिवाट रहेको घरहरु अहिले सम्म यथावत छ पोखरीको स्वरुप समेत सानो पार्ने षडयन्त्र भई रहेको उनको गुनासो थियो । जानकी मन्दिरमा बनेको शौचालय स्वच्छता अभियान अन्तर्गत हटाइको थियो । अहिले पुनः त्यहाँ शौचालय बन्न लागेको छ । मन्दिरको वेथिती बारे बोल्दै महन्थ दासले गुठी संस्थानले मन्दिरमा रहेको गरगहनाको स्वामित्व लिएपनि अहिले त्यो सरसमान खोज तलास गर्दा आफूहरु समक्ष नरहेको जानकारी दिए ।







