- विशाल बस्नेत
महोत्तरी । हत्या अभियोगको फरार सूचीमा रहेका महोत्तरी– १ का नवनिर्वाचित सङ्घीय सांसद लक्ष्मी महतोलाई प्रहरीले सुरक्षा दिएको पाइएको छ। जनकपुर उच्च अदालतवाट पारम्भिक दोषी ठहर भएका सांसद महतोलाई प्रहरीले स्कर्टिङ गरेर उद्घाटन समारोहमा सहभागी गराएको हो।
नेकपा एमालेबाट निर्वाचित महतो शनिबार बर्दिबासमा एक निजी अस्पताल उद्घाटन गर्न आएका थिए। पूर्वमन्त्री रघुवीर महासेठसहित आइपुगेका महतो प्रहरीको आँखै अगाडि गाडीबाट ओर्लिएर महासेठको पछिपछि हिँडे । तर, प्रहरीको एउटा समूह महतोलाई स्कर्टिङ गरिरहेको थियो भने अर्को समूह मूकदर्शक बनिरहेको थियो।



जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएका महतोको मुद्दा त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालत जनकपुरले पुनः उनको मुद्दालाई अनुसन्धान गरेको थियो । अनुसन्धानपछि उच्च अदालत जनकपुरले १९ मङ्सिर २०७७ मा महतोलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । न्यायाधीश पुष्पराज कोइराला र प्रभा बस्नेतको संयुक्त इजलासले यस्तो आदेश जारी गरे तापनि महतो खुलेआम प्रहरीकै अगाडि हिँडिरहेका छन् । अझ अचम्मलाग्दो त प्रहरीले उनलाई पक्रेर कानुनी दायरामा ल्याउनुको सट्टा स्कर्टिङ नै गरेर सुरक्षा दिइरहेको देखिन्छ ।
महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पँगेनीले महतोलाई पक्राउ गर्न कुनै समस्या नरहेको बताए । उनले भने, ‘हामीलाई पक्राउ गर्ने अधिकार छ, जुनसुकै बेला पनि पक्राउ गर्न सक्छौँ ।’ तर, उनले यस्तो बताए तापनि व्यवहारमा भने देखिएको छैन । प्रहरीको आँखै अगाडि महतो निर्वाचित भएदेखि नै दर्जनौँ कार्यक्रममा सहभागी भइसकेका छन् । उद्घाटन कार्यक्रममा समेत बाक्लै देखिने महतोलाई प्रहरीले किन पक्राउ गर्न सकेको छैन भन्ने विषय गम्भीर प्रश्न बनेको छ ।
निर्दोष मान्छेहरू कानुनी कठघरामा परिरहेका आरोप लागिरहेका बेला महतोको उन्मुक्तिले कानुनप्रति नै सर्वसाधारणले शङ्का व्यक्त गर्न थालेका छन्। अधिवक्ता टीकाध्वज खड्का राजनीतिक शक्तिका आधारमा कानुनको दुरुपयोग भइरहेको बताउँछन् । उनले भने, ‘कानुनलाई राजनीतिक शक्तिले प्रभावित बनाइरहेको छ।’ महतोको जस्तै मुद्दा खेपिरहेका अन्य व्यक्तिहरूका विषयमा पनि बहस र छलफल गर्नुपर्ने अधिवक्ता खड्काको तर्क छ ।
हत्या जस्तो जघन्य अपराधको मुद्दा खेपिरहेका, त्यो पनि अदालतले प्रारम्भिक रूपमा दोषी ठहर गरेका लक्ष्मी महतोको चुनौतीले सुरक्षा निकाय पनि प्रश्नको घेरामा छ। मधेस आन्दोलनको समयमा असई थमन वि.क.को हत्या गर्नेमध्येका मुख्य योजनाकार मानिएका महतोविरुद्ध केही प्रमाणहरू समेत देखिएपछि उच्च अदालत जनकपुरले प्रारम्भिक रूपमा दोषी ठहर गर्दै पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
समय, परिस्थिति सवै हेरेर महतोलाई पक्राउ गर्नुपर्ने प्रहरी उपरीक्षक कृष्ण पँगेनीको तर्क छ। अदालतले पुर्पक्षका लागि १९ मङ्सिर २०७७ मै थुनामा राख्ने आदेश जारी गरेसँगै महतोलाई पक्राउ गर्ने प्रहरीहरूलाई अधिकार प्राप्त भएको उनको भनाइ छ। महतोलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने अधिकार भए तापनि पक्राउका लागि उपयुक्त समयको पर्खाइमा रहेको उपरीक्षक पँगेनीले बताए।
उच्च अदालतले पक्राउ गरेर पुर्पक्षका लागी थुनामा राख्ने आदेश जारी गरेको नै २ वर्ष बितिसकेको छ। धेरै पटक प्रहरीले पक्राउ गर्ने प्रयास गरे तापनि महतोले प्रहरीको आँखा छल्दै आएका सुरक्षाकर्मीहरूको भनाइ छ। महतो महोत्तरी– १ मा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै निर्वाचित भएका थिए।
जनताले अनुमोदन गरेपछि कानुनबाट उम्कन पाउनुपर्छ भन्ने तर्क दण्डहीनताको पराकाष्ठा भएको स्थानीयहरू बताउँछन् । मनोनयनको अघिल्लो रात जनता समाजवादी पार्टीबाट नेकपा एमाले प्रवेश गरेर महतोले टिकट लिएका थिए ।




