जनकपुरधाम- चिकित्सा शिक्षा आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आगामी शैक्षिक सत्रका लागि स्नातक तहका विभिन्न विषयहरूमा विद्यार्थी भर्ना गर्नका लागि अनुमति प्रदान गरेको छ ।
आयोगको हालै बसेको बैठकबाट मधेश प्रदेश सरकार मातहत सञ्चालनमा रहेको प्रतिष्ठानलाई गत वर्ष प्रदान गरेको विषयहरूमा पुनः विद्यार्थी भर्नाका लागि अगामी शैक्षिक सत्रका लागि सोही संख्यामा सिटको निर्धारण गरेर अनुमति प्रदान गरेको हो ।



जनकपुरधाम स्थित मणिपाल शिक्षण कलेजको भवनमा सञ्चालन रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगामी शैक्षिक सत्रका लागि वि एन एस तर्फ २० सिट, विपिएच तर्फ २०, वि एस सी एमएलटि तर्फ २० तथा वि एस सि नर्सिङ तर्फ २० सिट प्रदान गरेको छ ।
प्रदेश सरकारको पूणर् स्वामित्वमा सञ्चालनमा रहेको मधेश प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले ती विषयहरूको पठन पाठन भइरहेको छ । कतिपय विषयको पूणर् छात्रवृत्ति तर्फ विद्यार्थीहरू पूणर् भएपनि केही शुल्क भएको सिटमा विद्यार्थीहरू कमै मात्रामा भर्ना भएको प्रतिष्ठानले जानकारी दिएको छ ।
मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको सेवामा सुधार गर्नका लागि मधेश प्रदेश सरकारले गौरवको योजना अन्तर्गत प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नका लागि विभिन्न विषयहरूमा स्नातक विषयको अध्ययन अध्यापक गर्दै आएको छ ।
प्रतिष्ठानले दुई वर्ष अगाडी देखि नै स्नातक विषयको पठन पाठनको शुरुवात गरेको छ । प्रदेश तथा देश भित्र दक्ष जनशक्ति प्रदान गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा दिने लक्ष्य दिएको प्रतिष्ठानका रेक्टर प्राध्यापक डा. अन्कुर साहले जानकारी दिनु भएको छ।




