राधेश्याम कुशवाहा,/बलरा, सर्लाही
जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले पुराना थोत्रा गाडी जस्तै पुराना राजनितिक पार्टीहरुलाई जनताले रिटायर्ड गर्नु पर्ने बताएका छन्।



सर्लाहीको बलरा नगरपालिका वार्ड न. ११ छतौना स्थित श्री सुधा राजेश्वर मावि विद्यालयमा बृहत पार्टी प्रवेश तथा विशाल आम सभालाई सम्बोधन गर्दै उनले साविक पार्टीहरु पुराना गाडी जस्तै प्रयोग नुहने अवस्थामा पुगेको टिप्पणी गरे ।

२० -२५ बर्ष पहिला प्रयोग गरेका गाडीहरुको अहिले आएर कुनै काम नरहेका छन, उनले भने, ‘पुराना पार्टीहरु पुराना गाडीहरुको पंखा, इन्जिन तथा पार्टपूजाहरु जस्तै खराब भइसकेका छन् । सर्वसाधारणलाई नयाँ गाडी प्रयोग गर्न आग्रह समेत राउतले गरे ।

देश र समाजको भविष्य बनाउने गाडी अर्थात साधन जनमत पार्टी रहेको दाबी गर्दै डा राउतले जनमत पार्टी बुलेट ट्रेन जस्तै भएकोले समय मै ट्रेनमा बसिएन भने पलेट फर्म मै अलपत्र पर्ने बताए ।
गाडी छुटयो भने रातभरी प्लेट फर्म मै लामखुट्टेले कटाउनु पर्छ, उनले भने, ‘समृद्वि र विकासको गन्तव्यमा पुग्नका लागि जनमत पार्टी अन्तिम र आखिर गाडी रहेको बताउदै बाँकी सबै गाडी जिर्ण तथा खटारा भइसकेका छन् । हामी सबैले देखिसक्यौ ।’

अर्काे राम्रो गाडी समेत छैन । जनमत एकमात्र गाडी रहेका दाबी गर्दै समयमै सही निर्णय लिएर जनमत पार्टीलाई सहयोग गर्न सबैलाई उनले आव्हान गरे ।
आम नागरिकहरुलाई समयमै विकास र समृद्विको गन्तव्यमा पुग्नका लागि जनमत पार्टी एकमात्र विकल्प रहेको उनको तर्क छ।
बलरा नगरपालिकामा भएको जनमत पार्टीको बृहत पार्टी प्रवेश तथा विशाल आम सभा कार्यक्रममा ५ सय भन्दा बढी कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टी, सर्लाहीका जिल्ला ईन्चार्ज श्रीचन यादव उर्फ सुजनले जानकारी दिए ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले नवप्रवेशीहरुलाई फूलको माला र अबिर लगाएर स्वागत गरेका थिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रिय सदस्यबाट परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका जनमत पार्टीका जिल्ला ईन्चार्ज श्रीचन यादव र सर्लाही क्षेत्र न. ४ का प्रतिनिधि सभा प्रत्याशी तथा पूर्व लोसपा महामन्त्री राकेश मिश्रले समेत राउतको हातबाट माला र अबिर लगाएर विधिवत रुपमा जनमत पार्टीमा समाहित भएका हुन् ।
जनमत पार्टीका केन्द्रिय सदस्य नरेश प्रसाद कुशवाहाले स्वागत मन्तव्य राखेका थिए, भने कार्यक्रमलाई रामनरेश पटेलले संचालन गरेका थिए ।
कार्यक्रममा मधेस प्रदेशका शिक्षा विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादव, मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री संजय यादव, जनमत पार्टीका महासचिव तथा संसदिय दलका प्रमुख सचेतक चन्दन सिंह, क्षेत्र न. ४ प्रतिनिधि सभा प्रत्याशी राकेश मिश्र, केन्द्रिय सदस्य संजय सिंह जनमत पार्टीका नेता कार्यकर्ता साथै हजारौं संख्यामा सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।




