जनकपुरधाम- मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेकोछ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो।
अर्थ सचिव प्रेमप्रसाद भट्टराईको अनुसार सरकारले करीब ३५ अर्बको बजेट ल्याउने तयारी गरिरहेको छ । अर्थ सचिव भट्टराईले भने, “चालु वर्षभन्दा आगामी वर्षमा बजेटको आकार घटेर आउने भएको छ।”
उनले बीस अर्ब मधेश प्रदेश सरकारको र १५ अर्ब संघीय सरकारले दिने अनुदान रकम सहित प्रदेश सरकारले करीब ३५ अर्बको हाराहारीमा बजेट ल्याउन लागेको जनाए।
सबै मन्त्रालयलाई पठाइएको बजेट सिलिङ र मार्गनिर्देशनको आधारमा बजेट निर्माणको तयारी अन्तिम चरणमा रहेको सचिव भट्टराईले बताए। उनले भने, “अधिकांश मन्त्रालयको बजेट निर्माण अन्तिम चरणमा छ। केन्द्रले यस वर्ष २२ प्रतिशत बजेट कटौती गरी पठाएकोले बजेटको आकार साँगुरिएको हो।”
अर्थ सचिव भट्टराईले आगामी बर्षको लागि संघीय सरकारले चालु आर्थिक वर्षभन्दा २२ प्रतिशतले कम अर्थात १५ अर्व मात्रै पठाएको बताए ।
चालु आर्थिक वर्षमा मधेश प्रदेश सरकारले ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो । चालु आर्थिक वर्षमा भएको खर्च अवस्था र राजस्व संकलनमा आएको गिरावटका कारण बजेट घटेको सचिव भट्टराईको कथन रहेको छ।
मधेसमा हुने प्रचण्ड गर्मीका कारण खानेपानीको भूमिगत मुहान तल गएकाले अधिकांश चापाकलहरु सुक्ने गरेको अवस्थामालार्ई ध्यानमा राखि सरकारले ल्याउन लागेको बजेटमा खानेपानी मन्त्रालय अन्तर्गत ‘वाटर एटीएम’ योजना राखिएको छ । जस अनुसार करीब दश ठाउँमा वाटर एटीएम बनाइने र करीब दुई सय सार्वजनिक ठाउँमा शुद्ध खानेपानीको व्यवस्था गर्ने बताइएको छ।
चालु आर्थिक वर्षमा पनि सर्वाधिक बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयमा नै राखिएको थियो । प्रदेश सरकारको प्राथमिकता पूर्वाधार नै रहेको छ । यद्यपि स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामै राखेर बजेट निर्माण गरिएको सचिव भट्टराईले बताए।
प्रदेश सरकारको सर्वाधिक आम्दानीको स्रोत मालपोत कार्यालय रहेको छ । उद्योगहरुमा कर लगाइए पनि त्यो असुलीमा समस्या हुने गरेको बताइन्छ ।
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभामा गत मंगलबार एक सय ८९ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन संसदमा छलफल भइ गत शुक्रबार सर्वसम्मतिले पारित गरिएको थियो ।
मधेश प्रदेशमा जनता समाजवादी पार्टी(जसपा)का नेता सरोज कुमार यादवको नेतृत्वमा नेपाली कांग्रेस, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा), माओवादी केन्द्र र नेकपा एस रहेको गठबन्धन सरकार छ । विपक्षमा नेकपा एमाले रहेको छ । तर सरकारको नीति तथा कार्यक्रमलाई सर्वसम्मतिले पारित गरिएको छ । सरकारको बजेट पनि सर्बसम्मतिले नै पारित हुने सरकारको विश्वास रहेको छ।


