जनकपुरधाम- जिल्ला अदालत धनुषामा मंगलबार दिउँसो ढुंगामुढा भएको छ । धनुषामा शंकास्पद मृत्यु भएकी आरती साहलाई न्यायको माग गर्दै प्रदर्शन गरिरहेका प्रदर्शनकारीले अदालतमा पनि ढुंगामुढा गरेका हुन् ।
प्रहरीले हत्यामा संलग्नलाई जोगाउन खोजेको भन्दै साहको माइती पक्षले अदालतबाहिर प्रदर्शन गरेका थिए । त्यसै क्रममा अदालतमा ढुंगामुढा भएको हो ।



मृतक आरतीको माइतीपक्षले अदालत परिसरमा ढुंगामुढा गर्दा प्रहरीसँग झडप समेत भएको छ । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा चारजना घाइते भएका छन् ।
घाइते हुनेहरुमा नगराईन नगरपालिका–८ खिरखिरिया बस्ने लिला देवी, लाडो बति देवी, कृष्णा साह र प्रवीण साह रहेका छन् । प्रहरीले सोही ठाउँ बस्ने गोविन्द साहलाई पक्राउसमेत गरेको छ ।
परिवारजनले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । पीडित परिवारलाई उल्टै धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेदप्रसाद गौतमले कुटपिट गरेको भन्दै उनीहरूलाई तत्काल कारबाही गर्न माग गर्दै विरोध गरिएको हो ।
गत जेठ ७ गते साँझ जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २२ वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो । उनीहरूले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआइबीद्वारा जाँच लगायत ६ सुत्रीय माग राखेका छन् ।
उनीहरूले काठमाडौमा पनि धर्ना दिएका छन् । हत्यारालाई कडा कारबाहीको माग गर्दै बुबा आमासहित परिवारजन शनिबारदेखि काठमाडौंमा धर्नामा बसेका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरतीकुमारी साहको मृत्यु भएको थियो । उनको दाइजोका कारण हत्या गरिएको माइतीपक्षको आरोप छ ।
दहेजको थप रकम नदिदाँ पटक पटक आरतीलाई उनीहरुले कुटपिट गर्दै शारीरिक र मानसिक यातना दिँदै आएको आरोप छ । करिब दुई वर्षअघि २५ लाख नगद दिएर आरतीको विवाह मोतीबाबुसँग गरेको मृतकका बुबा विनोदले बताए ।
यसअघि पनि आफ्ना छोरीलाई उनका श्रीमान्, ससुरा र सासू मिलेर थप दाइजो माग गर्दै आएको विनोदको दाबी छ । उनले भने, ‘दहेजको थप रकम नदिदाँ पटक पटक आरतीलाई उनीहरुले कुटपिट गर्दै शारीरिक र मानसिक तनाव दिँदै आएका थिए ।’
‘छोरीलाई कुटपिट गरेको देख्दा मैले धेरैपटक रकम पनि दिएँ,’ उनले भने, ‘अन्ततः उसको श्रीमान्, ससुरा, सासू र देवर मिलेर कुटपिट गर्नुका साथै घाँटी थिचेर हत्या गरे ।’
स्थानीयवासीलाई उद्धृत गर्दै मृतकका बुबा विनोदले भने, ‘घाँटी थिचेपछि आरती कराएकी थिइन्, त्यसपछि टोलका मानिसहरु भेला हुन थालेपछि आरतीले झुण्डेर आत्महत्या गर्यो भन्दै नाटक गरियो ।’
उनले विगतमा पनि पटक–पटक थप दहेजका लागि आरतीलाई उनीहरुले दबाब र कुटपिट गर्दै आएको दाबी गरे । दहेजकै रकमका लागि उनको टाउकोलगायत शरीरका विभिन्न भागमा कुटपिट गरी घाँटी थिचेर हत्या गरेको विनोदको आरोप छ ।
आरतीका ससुरा, श्रीमान् र सासूले पोल खुल्ने डरले मृत शरीर नै काव्या अस्पतालमा उपचारका लागि लगेको उनको दाबी छ । उनले आरतीले झुण्डेर आत्महत्या गर्यो भन्दै आफूलाई साँझ फोन गरेर जानकारी गराइए पनि घटना भने दिउँसै घटाइएको जिकिरसमेत गरेका छन् ।




