भंगहा(महोत्तरी)– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महोत्तरीको भंगहा देखि भारतको जयनगर सम्म चल्ने रेल सेवाको शुभारम्भ गरेका छन्।

आइतवार दिउँसो भंगहा रेल्वे स्टेशनमा मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको हो ।
देश कै एक मात्र जनकपुर-जयनगर ब्रोडगेज सेवाले आफ्नो सेवा थप १७ किलोमिटर विस्तार गर्दै भारतको जयनगर जनकपुरधाम कुर्था हुँदै महोत्तरीको भंगहा विजलपुरा सम्म ५२ किलोमिटर दुरीमा संचालन गरेको छ ।




उदघाटन समारोहको लागि जनकपुरधामको कुर्था जक्सनदेखि महोत्तरीको भंगहासम्म संचालनको पहिलो दिन रेललाई नव दुल्ही झै सृंगारिएको थियो ।
रेल हेर्न स्थानीयको घुँइचो लागेको थियो । यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो ।
ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि कुर्थादेखि जयनगरसम्म संचालनमा भईरहेकोमा अब भंगहा विजलपुर सम्म संचालन भएको छ।
सुरुमा दुईपटक मात्र सेवा दिने गरेको रेल गत मंसिरमा विवाहपञ्चमीको बेलादेखि दैनिक रुपमा ओहोर दोहोर गरी चारपटक संचालनमा रहेको छ । भोलि (सोमवार)देखि भने थप सेवा विस्तार गरी दैनिक दुबै रेल तीनपटक आउने र जाने गरी ६ पटक सेवा दिने नेपाल रेल्वे विभागका महाप्रवन्धक निरञ्जन झाले झाले जानकारी दिए ।
भंगहा स्टेशनबाट मात्र दिनको दुईपटक आर्थात साँझ र विहान सेवा दिने छ ।
उदघाटन समारोहमा मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्र गोबिन्द न्यौपाने, भंगहा नगरपालिकाका मेयर संजिव साह, भारतीय राजदुताबासका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा भंगहा नगरपालिकाका मेयर संजिव साहले प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सम्मान गर्दै मायाको चिनो समेत प्रदान गरेका थिए ।















