साउन महिनाको शुरूवातसँगै नारीहरूको हातमा हरियो चुरा बज्न थालेको छ।उनीहरू हरियो पहिरणमा देखिन थालेका छन्।
जनकपुरधाम-धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरकी मनिषा रौनियारले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाइन्।



मिथिला नपा-४ ढल्केबरकी अनु खनाल र महेन्द्रनगरकी सुशीला कार्कीले पनि हरियो चुरासँगै मेहन्दीले हात सजाए।
यतिबेला प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ। साउन लागे लगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ। रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाहरूको रोजाइमा परेको छ।
पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ। ‘क्रेज’ बढ्नुलाई धार्मिक विश्वास तथा फेसनका रूपमा लिन सकिन्छ।

यसरी साउन महिनाको शुरूवातसँगै नारीहरूको हातमा हरियो चुरा बज्न थालेको छ।उनीहरू हरियो पहिरणमा देखिन थालेका छन्।
बटेश्वर गाउँपालिका ५ कि २१ वर्षीया अरुणा लामा हरियो पहिरणमा देखिइन्। हातमा पनि हरियो चुरा टलक्क टल्कि रहेको थियो ।
उनले भनिन्, ‘मलाई सम्झना भएदेखि साउन लागेपछि हरियो लुगा र चुरा लगाउँदै आएकी छु।’ उनीलाई साउनमा हरियो लुगा र चुरा किन लगाइन्छ भन्ने थाहा नभएपनि प्रत्येक साउनमा हरियो चुरा कपडा लगाउँदै आएकी छन्। आमा, आफन्त र साथीहरूले लगाएको देखेर आफूले पनि लगाउँदै आएको अरुणाले बताइन्।
क्षीरेश्वरनाथ नगरपालिका वडा नं ६ कि ४५ वर्षीया सन्ध्या कणर् नयाँ बजार हटियामा सोमवार हरियो चुरा किन्दै गर्दा भेटिइन्।
उनले भनिन्, ‘साउन महिना शुरू हुने बित्तिकै हाम्रो परिवारका हरेक महिला र साथीहरूले हरियो चुरा लगाउँदै आएकोले मैले पनि लगाउँदै आएकी हुँ।’

साउन महिना जताततै हरियो, प्रकृतिको रमणीय वातावरण हुन्छ। साउन महिना विशेष गरि महादेवको महिना भएकोले यस महिनामा हरियो पहिरण लगाएमा महादेव खुशी हुने र चिताएको पूरा हुने जनविश्वास रहेको छ।
क्षीरेश्वरनाथ नगरपालिका २ की ४३ वर्षीया अनिता देवी यादव महेन्द्रनगरको एक कपडा पसलमा हरियो लुगा छान्दै गरेको अवस्था भेटिइन्।
उनले हरियो लुगा उनको १५ वर्षीया छोरी सुष्माको लागि छानी रहेकी थिइन् । हरियो लुगा नै किन भनेर प्रश्न गर्दा उसले भनिन्, ‘खास गरी छोरीको लागि हरियो कुर्ता सुरूवाल र चुरा किन्न बजार आएकी हुँ ।’
अनिताको आमाले साउन महिनामा चुरा अनिवार्य रूपमा लगाउँदै आएकोले आफूले पनि त्यसै गर्दै आएको अनिताले बताइन्। तर अरूको हेरेर छोरीले दुई वर्षदेखि हरियो चुरासँगै लुगापनि लगाउँदै आएको उनको भनाइ थियो। उनले थपिन्, ‘पुर्खा र समाजले जे गर्छन् ,गर्ने पर्यो गर्दिन भनेर हुँदोरहेनछ।’

उनीहरू मात्र नभएर साउन महिनाको शुरूवातसँगै नारीहरू हरियो पहिरणमा सजिन थालेका छन्।
महेन्द्रनगरमा रहेको तेज बस्त्रालयका संचालक राजा गुप्ता भन्छन्, ‘अरू समयमा सबै रंगको लुगा बिकेपनि अहिले अधिकांस ग्राहकले हरियो लुगा खोज्ने र किन्ने गरेका छन्।’
पसलेहरूले साउन महिनामा हरियो रंगको कपडाको माँग बढि भएकोले हरियो रंगलाई प्राथमिकता दिने गरेको महेन्द्रनगरकी सन्तोषी कुमारी बताउँछिन्।
उनी भन्छिन्, ‘अहिले लुगा वा चुराको पसल छिर्यो कि पसलेहरू हरियो रंगको देखाउँन् थाल्छन्।’
साउन महिनामा हरियो रंगको महत्व अहिले देखि नभएर पुर्खौंदेखि रहेको महेन्द्रनगरकी ७५ वर्षीया गीता देवी झाको भनाइ रहेको छ।

क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी सपना गिरिले साउने संक्रान्तिका दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन विस्तारै हराउँदै गएको तर हरियो चुरा तथा मेहन्दी लगाउनेको संख्याचाहिँ वर्षैंपिच्छे बढ्दै गएको बताइन्।
‘परिवारमा भएका सदस्यका हत्केला र पाखुरामा मेहन्दी तथा चुरा देखेपछि सबैले रहरले लगाउने गरेका छन्,’ उनले भनिन्, ‘घरैभरि सबैले लगाएका छन्, कसैको हात खाली छैन।’
कतिपयले हरियो चुरा लगाइसकेपछि फुटाउनु हुँदैन भनेर महिनाभर होसियारी अपनाउने गर्दछन्।
साउनमा श्रृंगारका सामान अन्य महिनाको तुलनामा निकै बिक्री हुने व्यापारीहरू बताउँछन्।
साउनको पहिलो दिनदेखि नै बजारमा रहेका श्रृंगार सामानका पसलमा चुरापोते, हरिया, राता, पहेँला बस्त्र खरिदकर्ताका भिड बढेसँगै व्यापार बढिरहेको व्यापारीहरूको भनाइ छ।
महेन्द्रनगर स्थित मीना शृंगार पसलकी प्रोप्राइटर मीना देवी साहले मध्य असारदेखि नै हरियो चुराको बिक्री बढेको बताइन्।
यस महिनाको सोमबार शिवको मन्दिरमा पूजा गर्न जाने महिलाको घुइँचो हुने गर्छ। विशेषगरी विवाहित महिला यसमा सहभागी हुने र व्रत पनि बस्ने गर्छन्। महिलाहरूले पतिको सुख, शान्ति र दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन्।
हिन्दू धर्म संस्कृति मान्ने महिलाहरूमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको रोजाइमा पर्छ।
‘पहिले गाउँघरमा मेहन्दी पाइँदैन थियो। मेहन्दी लगाउने चलन पनि थिएन। महिलाहरूले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्थे। हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ,’ वर्दिवासकी महिला अधिकारकर्मी उर्मिला कार्कीले भनिन्।

साउनमा हरियो चुरा/मेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुने तथा सर्पदंशबाट जोगिइने विश्वास छ। तर पछिल्लो समय धार्मिक आस्थाको आधारमा मात्र नभई देखासिकीका रुपमा पनि चुरा/मेहन्दी लगाइएको कतिपयको बुझाइ छ।
के छ पौराणिक मान्यता ?
पौराणिक मान्यताअनुसार साउन महिना शिवको महिनाका रूपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर ‘भगवान् शिव’ लाई प्राप्त गरेको प्राचीन विश्वासका आधारमा महिलाले यसलाई बढी महत्वका रूपमा लिने गर्छन् । साउनमा हरियो पहिरिँदा शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जाको वृद्धिको प्रतीक रहेको पनि कतिपयको बुझाइ छ ।
हरियो उपचारको रङ पनि हो जो मुटुसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडीको सुमधुर सम्बन्धमा पनि शयनकक्षको दक्षिण पूर्वी हिस्सामा हरियो रङ लगाएमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।
यसकारण लगाइन्छ हरियो
शास्त्री नवीन प्रियदर्शिका अनुसार हरियो रङ सौभाग्यको प्रतीक हो । साउन महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो । यस महिनामा हरियो रङका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो ।

शास्त्रमा प्रकृतिलाई ईश्वरका रूपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफू र पतिको आयुसमेत बढ्ने धार्मिक विश्वास छ । संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडी ‘भ्रमर’ का अनुसार हरियोलाई प्रेमको, रातोलाई सौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ । हरियो रङ बुध ग्रहको समेत प्रतीक रहेको बताइन्छ । बुध ग्रह भविष्य तथा व्यापारसँग जोडिने धार्मिक मान्यता छ ।




