एशिया कप क्रिकेटमा नेपालले भोलि इतिहासमै पहिलो पटक विश्व च्याम्पियन टोली पाकिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ।
ओडिआई क्रिकेटको वरीयतामा शीर्ष स्थानको पाकिस्तान र तेस्रो स्थानको भारतसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। नेपाली समयअनुसार भोलि दिउँसो ३ बजेर १५ मिनेटमा मुल्तान क्रिकेट रंगशालामा नेपालले पाकिस्तानविरुद्ध ऐतिहासिक खेल्न लागेको हो।



भोलि नेपालका कप्तान रोहित पौडेलले मुल्तानमा विश्व क्रिकेटका बादशाह तथा पाकिस्तानका कप्तान बाबर आजमसँग टसका लागि जानेछन्। त्यसवेला नेपाली क्रिकेटलाई विश्वले हेर्ने र चिन्ने छ।
पाकिस्तानविरुद्ध खेल्न नेपालले बलियो टोली उतारेको छ। खेलअघि आज भएको पत्रकार सम्मेलनमा कप्तान रोहित पौडेलले नेपालले एशिया कपमा डेब्यू गर्न लागेकाले नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको बताउँदै नेपालीका लागि भोलि उत्सव जस्तै हुने बताएका छन्।
रोहितले पाकिस्तानविरुद्ध खेल्न आफूहरु आतुर रहेको र प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने बताएका छन्।
पहिलो पटक सहभागिता जनाउँदै गरेको नेपाली टोलीलाई कमजोर रुपमा नलिन क्रिकेट पण्डितहरुले पाकिस्तान र भारतलाई सुझाव दिएका छन्। कुनै पनि खेल नै परिवर्तन गराउन सक्ने बलर तथा ब्याटर रहेको नेपालले इतिहाससमेत बनाउन सक्ने दावी उनीहरुले गरेका छन्।
उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूचीमा गुल्सन
आईसीसीले एशिया कपमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने ६ देशका खेलाडीहरुको सूचीमा नेपाली टोलीका गुल्सन झालाई पनि समेटेको छ।
विश्वकप छनोटका क्रममा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका गुल्सनको विशेषता नै आक्रामक तरिकाले खेल्नु रहेको आईसीसीले बताएको छ।
आईसिसीले मुख्य प्रतियोगितामा गुल्सनलाई कमजोर आँक्न नहुनेसमेत बताएको छ। विश्वकप छनोटको अन्तिम खेलमा गुल्सनले आयरल्याण्डविरुद्ध ४२ बलमा ५७ रन बनाएका थिए।
क्रिकेट इतिहासमै नेपालले पहिलो पटक रिभ्यु लिनसमेत पाउने एसीसीले जनाएको छ। भारत र पाकिस्तानसंको खेलका दौरान अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत लागेमा १५ सेकेण्डभित्र कप्तान रोहित पौडेलसँगै अन्य ब्याटरले रिभ्यु लिन पाउने छन्।
बुधवार शुरु हुने एशिया कपमा डिआरएस (डिसिजन रिभ्यु सिस्टम) उपलब्ध गराइन लागेको हो।
धेरै पटक नेपाली खेलाडी अम्पायरको गलत निर्णयको शिकार हुँदै आएकोमा अब यसबाट नेपाललाई राहत मिल्ने देखिएको हो। रिभ्यु लिने प्रविधि निकै महँगो हुने भएका कारण नेपालसहित एसोसिएट टोलीले यसको सुविधा पाउन सकेका छैनन्।




