जनकपुरधाम- श्रद्धा, भक्ति र सम्पूणर् तराई मधेशको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने छठ पर्व शुक्रबारदेखि विधिवत सुरु भएको छ।
सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेसवासीको महान् चाड छठ पर्व शुक्रबारदेखि सुरु भएको हो।



कात्तिक शुक्लपक्षमा चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनलाइ नहाए खाएके दिन पनि भन्ने गरिन्छ। छठ पर्वको पहिलो दिन शुक्रबार छठको व्रत गर्नेहरूले खोला, नाला, नदी, पोखरी, तलाउ लगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खाएका छन्।
छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिको दिनलाई ’खरना’ भनिन्छ। खरनाका दिन शनिबारदेखि नै व्रतालुहरूले निराहार व्रत सुरु गर्नेछन्।
छठको तेस्रो दिन अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिन्छ। जसलाई सँझीया घाटे पनि भनिन्छ। यसपालिका सँझिया घाटे आइतबार परेको छ।
त्यसदिन व्रतालु महिलाहरूले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउँदो सूर्यलाइ र भोलि पल्ट सप्तमी तिथीका दिन बिहान उदाउँदो सूर्यलाइ अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रूपमा समापन हुन्छ।
शुक्रबारदेखि विधिवत छठ पर्व सुरु भएपनि छठको मुख्य दिन षष्ठी तिथी आइतबार परेकाले तराई मधेसका जिल्लामा छठ पूजाका लागि तयारी तीव्र रूपमा भइरहेको छ।
छठ पर्व मनाउनेहरू पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै आ-आफ्ना पूजास्थल सुरक्षित गर्नमा तल्लिन भएर जुटेका छन्।
छठघाटहरूमा सरसफाइ, सजावट र व्यवस्थापनका काम अन्तिम चरणमा पुगेको छ।




