चन्दन ठाकुर/जनकपुर
प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार स्वर्गीय राजेश्वर नेपालीको स्मृतिमा ‘महामना राजेश्वर नेपाली टि–२० क्रिकेट टुर्नामेन्ट’ सुरुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको सहयोग तथा श्री दुधमति युवा क्लबको आयोजनामा उपमहानरपालिका— २३ बेलामा बुधबारदेखि सुरु भएको टुर्नामेन्टमा धनुषाका विभिन्न १६ क्रिकेट टोलीको सहभागिता रहने क्लबका अध्यक्ष रमेश साहले जानकारी दिनुभयो ।




एक कार्यक्रमका बीच खेल शुभारम्भ गर्दै जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले नेपाली पत्रकारितामा विशिष्ट योगदान गर्नुभएका स्व.नेपालीको स्मृतिमा क्रिकेट टुर्नामेन्ट आयोजनाका लागि धन्यवाद दिनुभयो ।

उहाँले उपमहानगरपालिकाले नगर क्षेत्रका खेल मैदानलाई व्यवस्थित बनाउन उच्च प्राथकिताका साथ काम गरिरहेको भन्दै वडा कार्यालयहरूलाई पनि आफ्नो क्षेत्रको खेलकूद विकासमा ध्यानदिन आग्रह गर्नुभयो ।

वडा नंं २३ का अध्यक्ष एवं स्वर्गीय नेपाली छोरा राघवेन्द्र साहले युवाहरूलाई शारीरिक र मानसिकरुपमा स्वस्थ राख्नुका साथै कुलतबाट जोगाउन पनि खेलकूद महत्वपूर्ण माध्यम भएको भन्दै आफ्नो बुबाको नाममा प्रतियोगिताको आयोजना गरिएकामा धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा खेलका संयोजक रमेश साह, स्थानीय अगुवा युवा केवल शर्मा, पत्रकार श्रीनारायण साहसहितका वक्ताहरूले प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार स्व. राजेश्वर नेपालीको सम्मानका लागि प्रतियोगिता आयोजना हुनु सराहनीय भएको बताउनुभयो ।
प्रतियोगिता १३ दिनसम्म चल्ने आयोजकले जनाएको छ ।




