जनकपुरधाम – विगत केही दिनदेखि तराई मधेसका जिल्लाहरूमा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ ।
यसैबीच मधेसका जल्लाहरूमा आज यस वर्षकै सबैभन्दा बढी चिसो अनुभव गरिएको छ । मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ ।



मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज बिहानको तापक्रम ८.५ डिग्र सेल्सियस मापन भएको छ ।

खास गरेर शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्ग, गरिब तथा खुल्ला आकाशमा काम गर्ने मजदूर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । बढेको चिसोका कारणले दम तथा रुघाखोकीको मात्रामा वृद्धि हुनुका साथै गेठीया तथा दम्माका रोगीहरूमा थप समस्या उत्पन्न भएको छ ।
आज बिहानदेखि पश्चिम भागबाट चलेको हावा र शितलहरका कारणले यहाँका बृद्धबृद्धा, बालबालिका तथा असक्त व्यक्तिहरू बढी समस्यामा परेका छन् ।

यहाँका धेरैजसो व्यक्तिहरूमा चिसोका कारण स्वास्थ्य समस्या बढ्न थालेपछि उपचारका लागि स्वास्थ्य संस्था आउनेका संख्यामा समेत वृद्धि भएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ।
प्रादेशिक अस्पताल जनकपुरधामका वरिष्ठ बालरोग विशेषज्ञ डा. जामुनप्रसाद सिंहले अत्यधिक चिसो बढेसँगै बालबालिकाहरूमा रुघा खोकी, निमोनिया जस्ता स्वास्थ्य समस्याहरू अत्यधिक मात्रामा देखिन थालेको जानकारी दिए ।
डा. यादवले चिसो हावासँगै जाडो बढेपछि सुत्केरी, बालबालिका, बृद्ध, असक्त, अपाङ्ग, दमका रोगीहरु पीडित भएका बताए।
चिसो अत्यधिक मात्रामा बढेपछि विद्यालयहरूमा विद्यार्थीहरूको उपस्थिति घट्न थालेकोले विद्यालयहरुमा जाडो विदा दिइएको छ।
शीतलहरका कारणले साना साना विद्यार्थीहरू प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका सम्पूणर् विद्यालयहरू बन्द गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले जारी गर्नु भएको सूचनामा पुस २९ गते देखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूणर् विद्यालयहरूमा जाडो बिदा दिने निणर्य भएको उल्लेख रहेको छ ।
मधेश प्रदेशमा रहेका अतिविपन्न वर्गमा पर्ने डोम, दुसाध, हलखोर, चमार, तत्मा तथा मुसहर समुदायका व्यक्तिहरूसँग पर्याप्त मात्रामा लुगा फाटा तथा ओढ्ने ओछ्याउने कपडा र बस्ने बासस्थानको राम्रो व्यवस्था नहुँदा थप समस्या भएको छ । चिसोको कारण यस्ता विपन्न दलित वस्ती लगायत न्यून आर्थिक अवस्थाका व्यक्ति बढी प्रभावित हुने गरेका छन् ।
शितलहरसँगै चिसो हावाको कारणले जाडो अत्यधिक मात्रामा बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहलमा घटेको छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामिण क्षेत्रमा यातायातका साधन चलेका छैनन् ।

ग्रामिण भेगमा दाउरा नहुँदा स्थानीयहरु गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन् । बाक्लो कुहिरोका कारणले तेलहन, दलहन, आलु खेती लगायतमा नकारात्मक असर पर्नुका साथै पशु चौपायाहरु पनि प्रभावित हुन थालेका छन् ।
गत आइतबारयता बिहान देखि हुस्सुले ढाक्दै आएको छ । मध्याह्नसम्म घाम देखिँदैन । त्यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि जाडो निकै बढेको हो ।
यसरी एक्कासि बदलिएको मौसमले व्यापार व्यवसाय मात्र नभएर कृषिकार्य पनि प्रभावित भएका छन् । लगातारको चिसो सिरेटोले घरपालुवा पशुवस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको धनुषाका पशुपालक किसानहरुको गुनासो छ ।
“खै उमेरले ६५ वर्ष टेक्न लागियो, यसरी लगलगी कमाउने जाडो त त्यति भोगेको सम्झनै छैन”, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-२ रमदैयाका किसान रामविलास यादवले भने।
बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नुपर्ने अवस्था बनेको क्षीरेश्वरनाथ नगरपालिका-६ सखुवा बजारको दलित बस्तीका ७० वर्षीय चौठी महरा बताउँछन्।

यसैबीच धुनषाका स्वास्थ्य संस्थाहरूले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहारसम्भारमा ध्यान दिन आग्रह गरेका छन् । आफ्नै घर वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घर वरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् ।
यसबाहेक फोहर कपडा, मिल्किएका कसिङ्गर, झुत्रा प्लाष्टिक र चिसो झ्यास सल्काएर आगो नबाल्न आग्रह गरिएको प्रादेशिक अस्पतालका प्रशासन प्रमुख डा. केडी दासले बताए । यस्तो आगो बालिएको ठाउँबाट निस्कने धुँवाले पुराना बिरामीको श्वासप्रश्वासको समस्या झनै बढाउने र नयाँमा थपिने डा दासको भनाइ छ ।
चिसोले जनजीवन कष्टकर बनाउन थालेपछि गरिब र दलित बस्तीमा तत्काल आगो बाल्न काठका सुकेका मुढा, खानपिनका सामग्री र न्यानो लुगाको सहयोग जुटाउने कार्यमा पहलकदमी लिन स्थानीय तहसँग सामाजिक सङ्घसंस्थाले आग्रह गरेका छन् ।
गरिब बस्तीका बासिन्दाले जाडोबाट बचाउने उपायका लागि आ-आफ्ना बस्तीका स्थानीय तहका प्रतिनिधि गुहार्न थालेका छन् ।




