सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–६, कुवापानीका १८ वर्षीय युवक भरत बुढाको हत्या गर्ने उनकै बाबु ४५ वर्षीय नयाँराम बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
बुढालाई कैलालीको टिकापुर नगरपालिका–१, लम्किपुरबाट प्रहरीले पक्राउ गरेको हो । उनले छोरीलाई बलात्कार र घटना लुकाउन छोराको हत्या गरेको खुलेको छ ।



उनले २ माघमा आफ्नै १८ वर्षीय छोराको बन्चरो प्रहार गरी हत्या गरेको आरोप छ । त्यसअघि उनले आफ्नै छोरीको बलात्कार गरेका थिए ।
बहिनीलाई बलात्कार गरेको भन्दै दाइ भरतले बुबाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही कारण उनको हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण शर्मा, प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदी, इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी प्रमुखको टोली टिकापुर गएको थियो ।
मोबाइल लोकेसनका आधारमा टिकापुर पुगेको अनुसन्धानको टोलीले त्यहाँ पक्राउ गरेर टिकापुर प्रहरीमा राखेको छ । बिहान १० बजे लम्बीपुरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले बताए ।




