काठमाडौं । आइतबार मुलुकका धेरै स्थानमा हल्का वर्षा भएपछि मौसम चिसिए पनि राजनीति सरगर्मी बढे ह्वात्तै बढ्यो । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख दलहरूबीच अस्वाभाविक दौडधुपले गरमराएको राजनीति ‘१० पुस’को कोर्समा अघि बढेको छ ।
आइतबार दिनभर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटार, कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठ र एमाले अध्यक्ष केपी ओलीनिवास बालकोट सक्रिय देखियो । आन्तरिक छलफलमा जुटेका प्रमुख दलका शीर्ष नेताले द्विपक्षीय संवाद पनि गरे ।



संसद्मा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे प्रधानमन्त्रीले छलफल गरेको नेताहरूले दाबी गरे पनि भित्रभित्रै सत्ता समीकरण फेरदबलको खेल भएको देखिएको छ । सोमबार बिहानैबाट फेरि दलका नेताहरूको सक्रियता सुरु भएको छ ।
खास गरेर मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभा अध्यक्ष निर्वाचनलाई लिएर सत्तागठबन्धनबीच तनाव देखिएका वेला पछिल्लो दौडधुपमा एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछाने सक्रिय देखिएका छन् ।
सोमबार बिहानै एमालेको सचिवालय बैठक बसेको छ, जहाँ अध्यक्ष ओलीले पछिल्लो घटनाक्रमको ब्रिफिङ गरेका छन् । स्रोतले भन्यो, ‘‘माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टीसहितको नयाँ सत्ता समीकरणको औपचारिकता लागि सचिवालय बैठकमा छलफल भइरहेको छ ।’’
उता रास्वपाको सचिवालय बैठक बसेको । नयाँ गठबन्धनका लागि तयार भएको रास्वपाले पछिल्लो विकसित घटनाक्रमका विषयमा छलफल गरिरहेको छ । सांसद गणेश पराजुलीका अनुसार राजनीतिमा विकसित भएको नयाँ परिवेशका बारेमा छलफल भइरहेको छ ।
सोमबार बिहानै नेताहरूको बैठक बसेको मात्र छैन, पूर्वनिर्धारित केही बैठक रद्ध पनि भएका छन् । एमालेसहितको नयाँ सत्ता समीकरणले आकार लिएपछि कांगेससहितको वर्तमान समीकरणको बैठक रद्द भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजे बस्ने भनिएको थियो ।
आजको बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवार, मन्त्री हेरफेर, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयकलगायत विषयमा छलफल हुने बताइएको थियो । माओवादीका एक नेताले भने, ‘‘अब गठबन्धनको औचित्य सकियो, किन बैठक बस्नु भनेर अन्तमा प्रधानमन्त्रीले रद्ध गर्नुभएको हो ।’’
सत्ता गठबन्धनको बैठक स्थगित भएपछि कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । देउवाले प्रधानमन्त्रीसँग अहिलेकै गठबन्धन कायम राख्न आग्रह गरेका छन् ।
उनले राष्ट्रियसभा अध्यक्षको दाबी समेत छाड्न तयार रहेको प्रचण्डलाई जानकारी गराएको कांग्रेस निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड एकाएक एमालेसँग नजिकिएपछि देउवाले अहिलेको गठबन्धन बचाउने अन्तिम प्रयास गरेका हुन् । देउवाको प्रस्तावमा प्रचण्डले अब धेरै ढिला भइसकेको जवाफ दिएको बताइएको छ ।
यद्यपी सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले पनि आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ । समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न भन्दै अध्यक्ष प्रचण्डले बैठक बोलाएका हुन् । नयाँ समीकरणको छलफल गर्ने माओवादी बैठकले देउवाको पछिल्लो प्रस्तावको विषयमा पनि छलफल गर्ने छ ।
दलहरूका यस्ता दौडधुप सत्ता समीकरणमा हेरफेर हुँदा देखिने गरेको विगत छ । सोमबार बिहान साढे ९ बजेसम्मको घटनाक्रमले फेरि कांग्रेस, नेकपा एकीकृत समाजवादीबाहेकको दलहरूको गठबन्धन बन्न लागेको जानकारहरू बताउँछन् ।
२०७९ पुस १० मा एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए । त्यो सहकार्य राष्ट्रपति निर्वाचनसम्म पुग्दा (६२ दिनमै) राष्ट्रपति निर्वाचनको समयमा टुटेको थियो । पुस १० अघि भने कांग्रेस नेतृत्वमा माओवादीसहितको गठबन्धन थियो । जसले चुनाव संयुक्त लडेको थियो ।
२०७९ पुस १० मा गठबन्धन फेरिएपछि २ महिनापछि पुरानै गठबन्धनमा राजनीतिक कोर्ष अघि बढेको थियो । अहिले ठिक वर्ष दिनपछि पुस १० कै एमाले माओवादीसहितको गठबन्धन ब्युँताउने परिस्थतीमा राजनीतिक घटनाक्रम अघि बढेको छ ।
एक वर्षपछि राष्ट्रपति निर्वाचनको तिक्तता भुलेर ओली र प्रचण्ड सहमतिको नजिक पुगेका हुन् । प्रचण्ड–ओलीबीच भइरहेको भेटवार्ता र आइतबार दिनभरको दौडधुप र सोमबार बिहानसम्मको परिस्थतीले नयाँ समीकरण बन्ने घटनाक्रम परिपक्क भएको बताइन्छ ।
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै नयाँ गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् ।
सामाजिक संजालमा उपाध्यक्ष पाण्डेले आजै सानो आकारको मन्त्रिमण्डलले शपथ लिने समेत जनाएका छन् ।
उपाध्यक्ष पाण्डेले लेखेका छन्- आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद बन्दै, सानो मन्त्रिमण्डलले आज शपथ लिनेछ ।
प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्मार्णमा लागि १३८ जना सांसद आवश्यक पर्छ।
अब भने कांग्रेसकै समर्थनमा माओवादीले राष्ट्रिय सभा अध्यक्ष पाए पनि प्रचण्ड यो गठबन्धनलाई निरन्तरता दिन इच्छुक नरहेको माओवादी नेताहरूको दाबी छ । एक नेताले भने, ‘‘राष्ट्रिय सभामा एमालेको मत पनि छैन । दाबी पनि छैन । तर, माओवादी र कांग्रेसको कचिंगलमा आफूले अध्यक्ष पाए पनि कांग्रेससँगको समीकरणलाई निरन्तरता दिन हुँदैन भन्ने मुडमा हुनुहुन्छ ।’’
नयाँ समीकरणको सम्भावनाले तीव्रता पाउँदै गर्दा आइतबार कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउनसक्ने वा गठबन्धनबाटै बाहिरिनसक्ने मनस्थिति निकटहरुसँगको बैठकमा सुनाएका थिए ।




