काठमाडौं – रुपन्देहीमा प्रहरीसँगको झडपमा चार सर्वसाधारणको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीसँगको झडपमा चार सर्वसाधारणको मृत्यु भएको हाे।



सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो। गोली लागेर घाइते भएकामध्ये चार जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजको इमर्जेन्सी विभागले जानकारी दिएको छ।
तीन जनाको अस्पताल पुर्याउँदै गर्दा मृत्यु भइसकेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। सो अस्पतालमा सर्वसाधारण र प्रहरी पाँच÷पाँच जनाको उपचार भइरहेको जनाइएको छ। यसैगरी लुम्बिनी प्रदेश अस्पतालमा पनि गोली लागेका ६ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
प्रहरीका अनुसार १५ जना सर्वसाधारण र १५ जना प्रहरी घटनामा घाइते भइ उपचारत रहेका छन्। आइतबार बिहानैबाट मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी भनिएकाहरू र प्रहरीबीच झडप हुँदै आएको थियो भने दिउँसो अवस्था नियन्त्रण बाहिर पुगेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो।
औद्योगिक क्षेत्रमा अस्थायी रुपमा बनाइएका टहराहरू भत्काउन खोज्दा सुकुम्बासी र प्रहरीबीच झडप भएको हो। यसैबीच तनाव शान्त नभएपछि स्थानीय प्रशासनले साँझदेखि मोतीपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
प्रहरीले राति १ बजे घर घेराउ गरी स्थानीय ३१ वर्षीय हिमाल रानालाई पक्राउ गरेपछि स्थानीय आक्रोशित भएका थिए। प्रशासनले तीन दिनदेखि रातको समयमा टहराहरू भत्काउँदै आएको थियो।
रुपन्देहीको मोतीपुरमा तनाव बढेपछि कर्फ्यू लगाइयो
निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जाको विषयले तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ ।
जग्गा अतिक्रमणको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाए पनि स्थिति नियन्त्रणभन्दा बाहिर जानसक्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू जारी गरेको हो ।
प्रशासनका अनुसार पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज बस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका १८ स्थित औद्योगिक करिडोरसम्म निषेधाज्ञा जारी गरिएको छ ।
‘जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाएकोमा विगत केही दिनदेखि सुरक्षा व्यवस्था मजबुत बनाई आएकोमा स्थिति नियन्त्रणभन्दा बाहिर जाने साथै सर्वसाधारणको शान्ति सुरक्षाको अवस्थासमेत जोखिममा पर्न सक्ने देखिएकोले शान्ति सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन स्थानीय प्रशासन ऐन २०७८ को दफा ६ (क) को अधिकार प्रयोग गरी आज मिति २०७८ साल असोज २४ गते दिनको ४ बजेदेखि अर्को सूचना जारीसम्मका लागि देहायको चारकिल्ला तोकी कर्फ्यू आदेश जारी गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको छ’, आदेशमा भनिएको छ ।





