भैरहवा- रुपन्देहीको भैरहवामा जिल्ला प्रहरी कार्यालय रूपन्देही को नवनिर्मित भवन बुधवार उद्घाटन गरिएको छ। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत तथा भान्सा घर लगायतका भवनहरूको बुधबार आयोजित एक कार्यक्रम बीच उद्घाटन गरेका छन्। साथै उक्त नवनिर्मित भवनहरूको अवलोकन, अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण तथा कार्यालय परिसरमा वृक्षारोपण समेत प्रहरी महानिरीक्षक कुँवरले गरेका छन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नागरिकको सुरक्षाका लागि मुलुकका विभिन्न स्थानहरूमा विद्यमान चुनौतीहरूको सामना गर्दै हर प्रहर ड्युटीमा तैनाथ रहने प्रहरी कर्मचारीहरूलाई आवश्यक सुरक्षा मापदण्ड सहितको सुविधा सम्पन्न कार्यालय र आवासको व्यवस्था गर्नु संगठनको उच्च प्राथमिकता रहेको उल्लेख गर्दै नव-निर्मित संरचनाहरूले प्रहरी काम कारवाहीलाई थप व्यवसायिक बनाउने विश्वास व्यक्त गरेका छन् ।




लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले धन्यवाद मन्तव्य व्यक्त गरेका छन् । उक्त कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ र रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक रंजित सिंह राठौरले स्वागत मन्तव्य व्यक्त र प्रहरी नायव उपरीक्षक ई । रोशन सारूमगरले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् । नेपाल सरकारको नियमित बजेटबाट कुल १४ करोड ९६ लाख ९४ हजार ५ सय ९१ रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको छ।

उद्घाटन समारोहमा जिल्लाका विभिन्न पालिकाका प्रमुखहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको छ ।




