दिवाकर उप्रेती
नेपालमा गत ३२साउनमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, नाम्चेको थामे खोलामा बाढी आयो । बाढी एक्कासी आएको हुँदा व्यापक धनको क्षति भयो । यसरी बाढी आउन सक्ने परिकल्पनासमेत नगरेको नाम्चे वासिन्दा सुरक्षित रुपमा भाग्न सफल भए । तर, सरकारको सूचना र अपर्याप्त डाटाको कारण करोडबढी क्षति जनताले भोग्नु पर्यो । यसरी एक्कासी आएको बाढीको स्थलगत अध्ययन गर्न गएको टोलीले हिमताल विष्फोट भएको जनायो ।



त्यसदिन दिउँसो सोलुखुम्बुको खुम्बु र दोलखाको रोल्वालिङ उपत्यका जोडिने टासी लाप्चा पासतर्फबाट अकस्मात बाढी आएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार त्यहाँ पानी पनि परिराखेको र केही दिनदेखि तापक्रमसमेत बढी भएको हुँदा घटना भएकाे हो । पोखरेलले भनेका थिए- हिउँभित्रको जमिनमा रहेका ढुङ्गा, गिटी चलायमान हुँदा मेलम्चीको बाढीमा भएजस्तै उच्च मात्रामा गेगरान निस्किएर थामे गाउँमा विपत्ति भएको हो ।
यसरी भएको थामे विष्फोटभन्दा अगावै पनि नेपालले १ असार २०७८ मा सिन्धुपाल्चोकको मेलम्चीको बाढी अनुभूति गरेको थियो । त्यस्तै २०८० साउनमा पनि कागवेनीमा गएको लेदोसहितको बाढी पनि नेपालका लागि सिकाइ थियो । तर ७० को दशकको बीचमा ठूला साना गरी थुप्रै बाढीपहिरोका कारण जनधन गुमाएको जनताको पीडाले सरकारलाई पिरोलेन । ८० को दशकको प्रारम्भिक वर्षमा क्षतिपुग्न सक्ने र विपत्तिबाट जनतालाई जोगाउनुपर्ने रणनीति न सरकारले बनाउन सक्यो न त यसको उचित अध्ययन र अनुसन्धान नै गरेर जनताप्रति उत्तरदायी हुनसक्यो । सरकार विपत्तिको नाममा गोलमेच खेलीरहेको छ । केही थान राहत र केही रुकम सहयोगमा जनताको पीडा लुकाउन खोजेको देखिन्छ ।
पछिल्लो हिमताल विष्फोटको विभिन्न कारणमध्ये जलवायु परिवर्तन भनेता पनि त्यसको कारक भने ब्ल्याक कार्वन हो भन्ने आधार नेपाल सरकारसँगै अझै छैन । हिमाल र हिमनदी पग्लिनु अनि हिमालय क्षेत्रमा तापक्रम वृद्धि हुनुमा जलवायु परिवर्तन मात्रै कारण नभई जैविक इन्धनबाट निस्किएको कार्बनका मसिना कणको पनि उत्तिकै भूमिका भएको तथ्य २००९ को कोपनहेगन सम्मेलनमा इटालियका वैज्ञानिकहरूल सार्वजनिक गरेका थिए ।
सरकारलाई राष्ट्र तथा अन्तराष्ट्रिय फोरममा बार–बार ‘ब्ल्याक कार्वन इज कजिङ्ग ग्लेसियर मेल्टिङ्ग, गभरमेन्ट निड्स्टू अन्डरस्ट्यान्ड एण्ड टेक एक्सन’ भनेर गत वर्ष सम्पन्न जलवायु सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वन तथा वातावरण मन्त्री विरेन्द्र महतोलाई विज्ञहरूले रिपोर्ट नै दिएका थिए । तर, भनिन्छ नि रात गई तो वात गई । त्यसपश्चात न त सरकार त्यो विषयमा जिम्मेवार देखियो न त त्यसको समाधानको स्वरुप नै खोज्न लाग्यो ।
ब्ल्याक कार्बन प्रदूषण र हिमाल
ब्ल्याक कार्बन वायु प्रदूषणको एक प्रमुख भाग हो र हामीले सास फेर्ने हावालाई हानिकारक बनाउन ठूलो भूमिका खेल्छ । यो डिजेल, पेट्रोल, कोइला, डढेलो र काठ जस्ता इन्धनहरू जलाउँदा आउँछ । जसले स–साना कालो कणहरू बनाउँछ, र कालो धब्बाको रूपमा देखिन्छ । यसरी कणहरूले हावालाई फोहोर मात्र बनाउँदैन कि वायुको गुणस्तरमा योगदान पुर्याएर वायु प्रदूषण निम्त्याउँछ । यस हावामा पिएम २.५ र पिएम १० समेत मिश्रित हुन्छ जसले मानव स्वास्थ्य र वातावरणलाई निकै हानी गर्छ ।
पिएम २.५ र पिएम १० दुवै ब्ल्याक कार्बन उत्सर्जनको तत्व हो । तर पिएम २.५ यसको सानो आकार र लामो समयसम्म हावामा घुलमिल हुने हुँदा हानिकारक मानिन्छ । स्वास्थ्य र वातावरणीय पक्षमा पिएम २.५ प्रायः गाडी, फ्याक्ट्री र औद्योगिक गतिविधिहरूको कारण उत्सर्जन हुन्छ । जसलाई ब्ल्याक कार्बनको प्राथमिक स्रोत पनि भनिन्छ । त्यस्तै पिएम १० मा ठूला कणहरू हुन्छन्, जुन लामो समयसम्म वायुमा बस्न सक्दैनन् र ब्ल्याक कार्बनको निमार्णमा कम भूमिका खेल्छ । तर, खेल्दै नखेल्ने भनेको भने होइन ।
त्यसो त हाम्रो दैनिक जीवनमा हामी सबैभन्दा प्रदूषित हावा श्वाश्प्रश्वास गरिरहेका हुन्छौँ । याद गर्नुस् त तपाईंं रिङ्गरोडमा हिँड्दै हुनुहुन्छ । त्यहाँ सडक निमार्णदेखि सवारीसाधनबाट प्रदूषित भइरहेको धूवाँ–धूलोको मुस्लो हेर्नुहोस् त ? ओ ! हो, ! कस्तो मन आत्तिने हुन्छ नि है ! त्यसको प्रतक्ष असर हामीले मूल्याङ्कन नै गरेको छैनौँ । त्यस धूवाँ–धूलोबाट हाम्रो शरिरमा के–के असर पुग्यो होला भनेर । हामीले सवारी साधन, कल–कारखाना वा अन्य इन्धनबाट निस्किएको कालो धुवाँ देख्दा ब्ल्याक कार्बनले वायु प्रदूषित भएको बताउन सक्छौं ।
कहिलेकाहीँ, हावा पनि भारी महसुस हुन सक्छ वा दुर्गन्धित हुन सक्छ । उच्च कालो कार्बन प्रदूषण भएका ठाउँहरूमा तथा आकाशमै धुलो वा कुहिरो देखिन सकिन्छ । त्यस्ता क्षेत्रहरूमा बस्ने मानिसहरूलाई श्वासप्रश्वासमा समस्या, खोकी लाग्ने वा सास फेर्न गाह्रो हुने हुन्छ । यदि पाठकमध्ये कसैले यी संकेतहरू अनुभूति गर्नु भएको छ भने, यो स्पष्ट संकेत हो कि हावाको गुणस्तर खराब छ र ब्ल्याक कार्बन र अन्य प्रदूषकहरूले तपाईंंलाई हानी पुर्याएको छ ।
त्यो भन्दै गर्दा ब्ल्याक कार्बनले मानिसलाई मात्रै असर गर्याे र ? पक्कै पनि होइन । यसले त हाम्रो वातावरण देखि हिमालसम्मलाई क्षति गरेको छ । कसरी भन्ने प्रश्न आए अव बुझौँ:
नेपालमा विशेषगरी हिमालयमा हिमनदी पग्लिनुमा ब्ल्याक कार्बनको ठूलो भूमिका छ । जब ब्ल्याक कार्बन, सवारी साधन, उद्योगहरू र डढेलो जस्ता स्रोतहरूबाट उत्सर्जन हुन्छ, यो हिउँमा टासिन्छ । फलस्वरुप तपाईंले गत वर्ष मात्र हिमालमा कालो धब्बा वा हिउँ विहिन हिमाल देख्नुभयो ? हो त्यो ब्ल्याक कार्बन थियो । त्यसले गर्दा जब हिउँमा सूर्यको डाइरेक्ट किरण पर्छ हिउँ पग्लिन थाल्छ । जसले गर्दा हिमतालमा पानीको सतहबढेर आउँछ र फलस्वरुप त्यो विष्फोट हुने हुन्छ । इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड, २०१७) को एक अध्ययन अनुसार नेपालसहित हिन्दुकुश हिमालयन क्षेत्रमा त्रिवरुपमा हिमताल पग्लनुको कारण नै ब्ल्याक कार्बन रहेको उल्लेख छ । त्यस्तै यो रिपोर्टमा उल्लेख भएअनुसार यदि ब्ल्याक कार्बन उत्सर्जन कम गर्न मात्र सकेमा हिमतालहरूको विष्फोटनलाई ५० प्रतिशतसम्म कम गर्न सकिन्छ ।
इसिमोडको नै सन् २०२० को एक ब्लगमा प्रकाशकीय हेर्ने हो भने २९ स्थानमा भएको सर्वेक्षण जहाँ नेपालको छ स्थान, भुटानको तीन स्थान, भारत र चीनको (तिब्बती) क्षेत्रको दश/दश स्थानमा गरिएको अध्ययनअनुसार नेपालको हकमा ५० प्रतिशत ब्ल्याक कार्बन प्रि–मनसुनको अवस्थामा जम्मा भएको उल्लेख छ । र, २५ प्रतिशत भने अप्रिल महिनामा जम्मा भएको देखिन्छ । त्यस्तै कुल कार्बनको हिस्साअनुसार २५ प्रतिशत प्रिमनसुन मै पग्लिने गरेको समेत उल्लेख गरेको छ । जबकि त्यही मैसममा डढेलो, सवारीसाधन, फ्याक्ट्री र अन्य इन्धनबाट उत्सर्जन भएको कुल ब्ल्याक कार्बनको १९ प्रतिशत पग्लिने गरेको समेत उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।
अर्को क्लिन एयर फण्डको तथ्याङ्कलाई हेर्ने हो भने एक तिहाईभन्दा बढी हिउँ ब्ल्याक कार्बनको चपेटमा आएको हुँदा हिउँ पग्लिएको उल्लेख छ । जसको सार भेनेजुएलाले गुमाएको सम्पूर्ण हिमाललाई आधार मान्न सकिन्छ । यसरी हिमालमा हिउँनै नरहने हो भने वातावरणीय संकट चुलिने हुन्छ भने त्यस वरपरका क्षेत्रमा हिमतालमा क्षमताभन्दा बढी पानी जमेर विष्फोट हुने निश्चित देखिन्छ । जुन पछिल्लो थामे उदाहरण बन्न पुगेको छ ।
निष्कर्ष
यसरी ब्ल्याक कार्बन नेपालको लागि नयाँ शब्दावली भने होइन । तर, यसले पारेको असरबारे भने सरकार मौन देखिन्छ । अन्य वातावरणीय संकटको बारे सम्मेलनदेखि बहसमा सहभागी हुने सरकारले यो विषयलाई पनि प्राथमिक्ता दिन जरुरी छ । त्यस्तै सरकारले आफ्नै निर्णयहरूको कार्यान्वयनको लागि अडिग हुन जरुरत छ । २०७१ मा सरकारले नै २ वर्षभित्र काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सबै गाडी विस्थापन गर्ने निर्णय गरेको थियो । तर, आज एक दशकको अवधिमा पनि सरकारले त्यस निर्णयको कार्यान्वयन गर्न सकेको देखिदैन । यसरी लोकरिझाइका लागि हत्तनपत्त सरकारले गर्ने निर्णयले अन्तर्राष्ट्रिय जगतमै नेपालको गैरजवाफदेही स्थापित हुन्छ ।
नेपालको जलवायु परिवर्तन नीतिले वातावरणीय क्षति न्यूनीकरणका लागि विभिन्न रणनीतिहरू बनाए पनि ब्ल्याक कार्बन उत्सर्जन घटाउन केन्द्रित विशेष कार्यहरूको अझै अभाव छ । राष्ट्रिय निर्धारित योगदान संशोधन अवस्थामा रहेको हुँदा (एनडिसी ३.०) मा ब्ल्याक कार्बनलाई प्रमुख फोकसको रूपमा समावेश गर्न सरकार उत्तरदायी हुनुपर्छ । यसलाई नेपालको जलवायु एजेन्डाको केन्द्रीय भाग बनाउँन सकेमा हिमालयमा हिमनदी पग्लन योगदान पुर्याउने हानिकारक प्रदूषकहरूलाई कम गर्न सकिन्छ ।
औद्योगिक उत्सर्जनका लागि कडा नियमहरू लागू गर्ने, फोहोर व्यवस्थापनको आधार बनाउने र स्वच्छ ऊर्जा विकल्पहरूलाई लागू गर्नु अपरिहार्य छ । साथै सरकारले विभिन्न तहबाट प्राप्त सुझाब तथा निष्कर्षलाई तत्काल नै लागू गर्न मात्रै सके पनि केही हदमा ब्ल्याक कार्बन प्रदूषण कमी गर्न सक्छ ।




